
दाङ, ८ पुस ।
दाङमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाईकल चालक दंगिशरण गाँउपालिका वडा नम्बर ७ का १७ वर्षिय क्रिश खड्का रहेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी बिर बहादुर वलीले जानकारी दिनु भएको छ ।
उहाँका अनुसार मृत्यु हुने अन्दाजी १८/१९ वर्षीया किशोरीको नाम ठेगाना खुल्न बाँकी रहेको छ भने बालीकाले लगाएको ड्रेस ज्ञान ज्योतिको रहेको उहाँले बताउनुभयो ।
आज दिँउसो करिव पौने पाँच बजेतिर तुलसीपुर बाट घोराहीतर्फ जाँदै गरेको रा १ ख २३७५ नम्बरको बसले घोराही बाट तुलसीपुरतर्फ आँउदै गरेको रा २ प ५२५५ नम्बरको मोटरसाइकलाई घोराही उपमहानगरपालिका १६ सर्रामा ठक्कर दिदाँ दुबै जना घाइते भएका थिए ।
घाइते भए लगतै दुबै जनालाई उपचारका घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको हो । किशोरीको उपचारका क्रममा अस्पताल मै मृत्यु भएको हो भने घाइते किशोरको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बस र चालक तुलसीपुर उपमहानगरपालिका १८ हेमन्तपुरका ४३ वर्षिय पीकेन्द्र वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।