![](https://etulsipur.com/wp-content/uploads/2023/07/1582376398salyan.jpeg)
दाङ, २१ असार ।
दाङको तुलसीपुरबाट रोल्पाको दलसिंगे जाँदै गरेको यात्रुवहाक बसमा करेन्ट प्रवाह हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । घटनामा रोल्पाको दलसिंगेका कालुराम डाँगी र टोपीलाल डाँगीको मृत्यु भएको सल्यानका सीडिओ वेदप्रसाद खरेलले जानकारी दिनुभयो । मृत दुवै जना बाबु छोरा रहेको खरेललेृ जानकारी दिनुभयो ।
बसमा २० देखि २५ जना सवार भएको जनाइएको छ । यद्यपि यसबारे एकिन जानकारी भने आउन बाँकी रहेको छ ।
तुलसीपुरबाट छुटेको रा १ ख ८३४ नम्बरको बस आज सल्यानको राप्ती राजमार्गको चोर खोला नजिकै जाँदा उक्त घटना घटेको हो ।
गएराति हावाहुरी र पानी आउँदा सडक छेउको बिजुलीको तारमा रुख ढलेको थियो । सडकबाट बस पार हुँदा बिजुलीको तारमा छोइएर बसमा करेन्ट प्रवाह भएको प्रत्यक्षदर्शीले जनाएका छन् ।
उक्त घटनाकै कारण बाटोमा यातायात अवरुद्ध भएको छ । प्रहरीले बाटो खुलाउने काम गरिररहेको छ ।