
दाङ, २१ असार ।
दाङ-सल्यान सडकखण्ड अन्तगर्त चोरखोलामा गुडिरहेको बसमा करेन्ट लाग्दा तिन जाको मृत्यु भएको छ । तुलसीपुरबाट रोल्पाको दलसिंगे जाँदै गरेको यात्रुबहाक बसमा करेन्ट प्रवाह हुँदा रोल्पाको गङ्गादेव गाउँपालिका-४ का अन्दाजी ७० वर्षीय बालराम डाँगी र उहाँका ४० वर्षीय छोरा टोपलाल डाँगीको मृत्यु भएको हो ।
दुवै जना बावु छोरा रहेको सल्यानका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले जानकारी दिनुभयो । खरेलका अनुसार बसधनी सल्यान छत्रेश्री गाउँपालिका-६ का अन्दाजी ३५ वर्षीय गम्भीर घाइते महेन्द्र ओलीको उपचारका क्रममा मृत्यु भएको छ ।
बसधनि ओलीको राप्ती प्रादेशि अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको सल्यान प्रहरीले जनाएको छ ।
बसमा २० देखि २५ जना सवार भएको जनाइएको छ । तुलसीपुरबाट छुटेको रा १ ख ८३४ नम्बरको बस आज सल्यानको राप्ती राजमार्गको चोर खोला नजिकै जाँदा उक्त घटना घटेको हो ।
गएराति हावाहुरी र पानी आउँदा सडक छेउको बिजुलीको तारमा रुख ढलेको थियो । सडकबाट बस पार हुँदा बिजुलीको तारमा छोइएर बसमा करेन्ट प्रवाह भएको प्रत्यक्षदर्शीले जनाएका छन् ।