दाङ, २९ असार ।
अवरुद्ध घोराही-लमही सडक संचालनमा आएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बालकको मृत्यु भएपछि आक्रोशित आफन्तहरूले घोराही-लमही सडक अवरूद्ध पारेका थिए ।
बिहीबारदेखि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रदर्शन गरिरहेका मृतकका आफन्तहरूले शुक्रबार दिउँसोदेखि सडक अबरूद्ध गरेका हुन् । छारे रोगका बिरामी घोराही उपमहानगरपालिका-३ का ११ वर्षीय आक्रोश नेपालीको उपचारका क्रममा बिहीबार प्रतिष्ठानमा मृत्यु भएको थियो । बालकको मृत्युपछि बिहिबारदेखि आफन्त आन्दोलित छन् । आन्दोलनको क्रममा मृतक बालकका आफन्तले शुक्रबार दिउँसो अवरुद्ध बनाएको घोराही-लमही सडक केहिबेर अघि खुलेको छ ।
तर अस्पताल व्यवस्थापन पक्ष र पिडित पक्षबिच सहमती भने जुटेको छैन् । यात्रुको समस्यालाई ध्यानमा राख्दै यातायातका सवारी साधन संचालनमा आउन दिएको मृतक बालकका आफन्तले बताएका छन् । सडक संचालनमा आएपछि बिच बाटोमै रोकिएका सवारी साधन गन्तव्यतर्फ पठाएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी राजनकुमार गौतमले जानकारी दिनुभयो ।