२०८१ भाद्र २२ गते आइतवार

भारतको उत्तराखण्डमा गएको पहिरोमा परि एकै परिवारका सातसहित १३ जना नेपाली बेपत्ता



काठमाण्डौ,१९ साउन।
भारतको उत्तराखण्ड प्रदेशमा रहेको गौरीकुण्डमा गएको पहिरोमा परेर कम्तीमा १३ जना नागरिक बेपत्ता भएका छन् । पहिरोमा परेर जुम्लाको पातारासी गाउँपालिका वडा नम्बर ३ चौर गाउँका एकै परिवारका ७ जनासहित कम्तीमा १३ जना बेपत्ता भएका हुन्। बेपत्ता हुनेहरु हुम्ला र जुम्लाका रहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पहिरोले उनीहरू बसेको होटल बगाएको हो ।

गौरीकुण्डमा रहेका तीनवटा होटल पहिरोले बगाएको छ । जुम्लाको पातारासी गाउँपालिकाका उपाध्यक्ष जुनमाया रोकायाले वडा नम्बर २ र ३ का गरी ११ जना हराएका जानकारी आएको र थप बुझ्ने काम भइरहेको बताउनुभयो ।

जुम्लाकी सांसद कान्तिका सेजुवालले दिल्लीमा रहेको नेपाली दूतावासमा १६ जना नेपाली हराएको जानकारी आएको थाहा भएको र थप पुष्टि गर्ने काम भइरहेको बताउनुभयो ।

यसैबीच गृह मन्त्रालयले भारतको उत्तराखण्ड राज्यमा गएको पहिरोमा परि बेपत्ता भएका नेपालीको खोजी तथा उद्धारका लागि समन्वय गर्न परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ ।

स्थानीय हिलवाणी न्युज पोर्टलले पहिरोमा नेपाली नागरिक बेपत्ता भएको समाचारलाई उद्धृत गर्दै समन्वयका लागि पत्राचार गरेको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले घटनाबारे नेपाल सरकारले जानकारी पाएको र आवश्यक सहजीकरणका लागि पहल गरिएको बताउनु भयो । उहाँले भारतको उत्तराखण्ड प्रदेशको नेपालसँग सिमाना जोडिएको जिल्ला कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीमार्फत् समन्वयको काम भइरहेको बताउनुभयो ।
साभार :उज्यालो अनलाइन

प्रकाशित मिति : २०८० साउन १९ गते शुक्रवार