दाङ,२३ भदौ ।
बाँकेको शमशेरगञ्जमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले बताउनुभयो ।
प्रहरीका अनुसार दुर्घटनामा एउटै वडाका ५ जना र चालक, सहचालकसहित ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा ज्यान गुमाउनेहरुमा बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर ९ का ५० वर्षीय काशिराम थारु, ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीया रुपा परियार, ४० वर्षीया जयन्ती थारु, ६५ वर्षीय साधुराम थारु रहेका छन् ।
यसैगरी ठाकुरबाबा नगरपालिका-८ का बस चालक ४५ वर्षीय जुग बहादुर चन्द र नाम खुल्न बाँकी सहचालक ३५ वर्षीय पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ । घाइते २९ जनाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ ।
दाङबाट बर्दियाको ठाकुरद्वारा जाँदे गरेको ना ७ ख २३२१ नम्बरको बस बाँकेको शमशेरगन्जस्थित जंगलमा बिग्रिएर मर्मतका लागि रोकिराखेको ना ८ ख ६४०५ ट्रकसँग शुक्रबार राति ९ बजे ठोक्किँदा दुर्घटना भएको हो।