२०८१ साउन ५ गते आइतवार

ट्वाइलेट जाने क्रममा नेपाली सेनाको अर्जुन खोलामा खसेर मृत्यु



दाङ, १० कात्तिक ।
दाङमा शौच गर्न जाने क्रममा खोलामा खस्दा एक नेपाली सेनाको मृत्यु भएको छ । शौच जाने क्रममा चिप्लिएर अर्जुन खोलामा खस्दा नेपाली सेनाका लेस नायकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी जनक बहादुर मल्लले जानकारी दिनुभयो ।

रणसिंह दल गण घोराहीमा दरबन्दी भइ हाल अर्जुनखोलाको आर्मी पोष्टमा कार्यरत ३० वर्षका शितल थापाको खोलामा डुबेर मृत्यु भएको प्रवक्ता मल्लले बताउनुभयो ।

लमजुङ मध्यनेपाल नगरपालिका -९ निवासी थापा शुक्रबार दिउसो साढे १२ बजे शौचालय जाने क्रममा करिब २ सय मिटर तल अर्जुन खोलामा खसेको प्रहरीले जनाएको छ ।

आर्मीको पोष्ट नजिकै रहेको कच्चि शौचालय जाने क्रममा थापा खसेको अनुमान प्रहरीले गरिएको छ । थापाको शबलाई लमही अस्पतालमा राखिएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० कार्तिक १० गते शुक्रवार