दाङ, २८ पुस ।
रुकुम पश्चिमको आठविसकोट नगरपालिका-६ होली गाउँका दीपक कामीले विवाह गरेको दुई बर्ष मात्र भएको थियो । ६ महिनाअघि उहाँका छोरा जन्मिएका थिए । हुर्किंदै गरेका छोराको भविष्यका लागि दिपक वैदेशिक रोजगारीमा जाने तयारीमा हुनुहुन्थ्यो ।
म्यानपावर कम्पनीले भिसा आईसकेको र चाँडै मेडिकल गर्न बोलाएपछि उहाँ गएराति नेपालगञ्जबाट रात्री बस चढेर काठमाडौं हिँडनु भएको थियो । उहाँ चढेको भे १ ख ३९१२ नम्बरको बस दाङको राप्ती गाउँपालिक पुगेपछि दुर्घटना भयो ।
पुलबाट राप्ती नदीमा खसेको बसमा सवार २५ बर्षीय दीपक कामीसँगै १२ जनाको मृत्यु भएको छ । केही मृतकको पहिचान खुल्न बाँकी छ ।
घरमा सानो बच्चा भएकाले भिसा आएपनि तत्काल दीपक विदेश जान चाहनुभएको थिएन । म्यानपावरले भिसा आईसकेको बताएपछि उहाँ पछि दोहोरो ऋण थपिने डरले काठमाडौं जादै हुनुहुन्थ्यो ।
म्यानपावर कम्पनीले मेडिकल छुट्छ, छिटो आईहाल्नुस् भनेर बारम्बार बोलाईरहेको रहेकाले बाठमाण्डौ जान लागेको उहाँका भिनाजु उत्तम कलले बताउनुभयो । दीपकका भिनाजु आठविसकोट-६ का पूर्ववडाध्यक्ष उत्तम कलेलले भन्नुभयो उसले सानै बच्चा भएकाले तत्काल जाने मन पनि गरेको थिएन, भिसा आईसकेपछि बाध्य भएर मेडिकल गर्ने र जानुपरिहाले त्यतैबाट विदेश गईहाल्ने भनेर दिपक काठमाडौं लागेको बताउनुभयो ।
दीपक पाँच महिनाको छोरा र श्रीमतिलाई नेपालगञ्जमा छोडेर काठमाडौं हिँड्नुभएको थियो । उहाँका भिनाजु उत्तमको घर नेपालगञ्जमा छ । श्रीमती र छोरालाई त्यही घरमा दीपकले राख्नुभएको थियो ।
दीपककी दिदी भारतमा बस्नुहुन्छ । उहाँको परिवारमा अहिले उहाँको दिदी मात्र हुनुहुन्छ । ‘एजेन्टले छिटो आउनु भनेको र भिसा आईसकेको कुरा मलाई भनेकै थिएनन्, भिसा लगाएको पनि थाहा दिएनन्,’ पूर्ववडाध्यक्ष कलेलले भन्नुभयो ‘भिसा लगाएर उनी ससुराली गएका थिए, त्यहाँबाट फर्किएर उनीहरु नेपालगञ्ज गएका रहेछन्।’
दीपकको ससुराली रुकुम पश्चिमकै बाँफिकोट गाउँपालिका-६ खारखारा भन्ने गाउँमा हो । दीपकको दुर्घटनामा मृत्यु भएको खबर पाएपछि उहाँको दिदी घर भारतबाट घर आउँदै हुनुहुन्छ । सेतोपाटीबाट साभार