२०८१ माघ ९ गते बुधवार

दाङमा छुट्टाछुट्टै सवारी दुर्घटना हुँदा ५ जना घाइते



दाङ, १४ चैत ।
दाङमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जना घाइते भएका छन् । घाइते हुनेमा अटो चालक लमही नगरपालिका १ सुनडबरीका ४८ वर्षिय गिर बहादु कुमाल राजपुर गाउँपालिका ७ सिक्टाका ६४ वर्षिय धन बहादुर कुमाल र उनको श्रीमती ६३ वर्षिय तोला कुमारी कुमाल घाइते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

दुर्घटनामा परी धन बहादुर गम्भिर घाइते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि बाँकेको नेपालगञ्ज रिफर गरिएको प्रहरी निरिक्षक मल्लले बताउनुभयो ।

अन्य दुई जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तुलसीपुरबाट अमेलियातर्फ जाँदै गरेको रा १ ह ५५०२ नम्बरको अटो लमही नगरपालिका ९ अम्रईखोलास्थित आफै अनियन्त्रीत भएर दुर्घटना भएको हो । अटो सडकदेखि अन्दाजी १६० मिटर तल खसेको थियो ।

यसैबिच, तुलसीपुरबाट दोघरे तर्फ जाँदै गरेको रा ४ प ८५०५ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट आउँदै गरेको रा १ ह २६४९ नम्बर अटो एकआपसमा ठोक्किदा दुई जना घाइते भएका छन् ।

घाइते हुनेमा मोटरसाइकलमा सवार तुलसीपुर-३ का १३ वर्षिय चित्र बहादुर पुन र मोटरसाइकल चालक १७ वर्षिय प्रकाश पुन रहेको प्रहरीले जनाएको छ । घाइते चित्र बहादुरलाई राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि बाँकेको नेपालगञ्ज रिफर गरिएको अस्पतालले जनाएको छ ।

मोटरसाइकल चालकको सामान्य उपचार पछि डिस्र्चाज गरिएको छ । घटनाका विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ॥

प्रकाशित मिति : २०८० चैत्र १४ गते बुधवार