२०८१ माघ ६ गते आइतवार

नयाँ वर्षकै दिन दाङमा भएका चार सवारी दुर्घटनामा, आठ जना घाईते



दाङ, १ चैत ।
दाङमा नयाँ वर्षकै दिन शनिबार चार सवारी दुर्घटना भएका छन् । दुर्घटनामा आठ जना घाईते भएको प्रहरीले जनाएको छ।

रोल्पाबाट दाङतर्फ आउँदै गरेको रा ५ प ९१९ नम्बरको मोटरसाइकल तुलसीपुर-४ रक्षाचौरमा दुर्घटना हुँदा रोल्पाको गंगादेव गाउँपालिका वडा नम्बर ४ का ३५ वर्षिय ओपेन्द्र केसी घाईते हुनुभएको छ ।

उहाँ उपचार पश्चात डिस्चार्ज भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता तथा प्रहरी निरिक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो । मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।

यस्तै पश्चिम दाङमा शनिबार बेलुकी मोटरसाइकल र स्कुटी एकआपसमा ठोक्किदा चार जना घाईते भएका छन् । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक मल्लका अनुसार तुलसीपुर-सुर्खेत सडकखण्ड अन्तगर्त बबई गाउँपालिका-५ पदमपुरस्थित दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक तुलसीपुर-३ का १९ वर्षिय आशिष खड्का र मोटरसाइकलमा पछाडि सवार सोहि ठाउँका १४ वर्षिय सरोज खड्का घाईते भएको प्रहरीले जनाएको छ ।

यस्तै स्कुटी चालक बबई गाउँपालिका वडा नम्बर ३ हंसपुरका ५२ वर्षिय देवप्रसाद आचार्य र स्कुटरमा पछाडि सवार बबई-५ खैरबट्टीका ४८ वर्षिय कुल बहादुर वली घाइते भएको प्रहरी निरिक्षक मल्लले जानकारी दिनुभयो ।

घाइते मध्ये दुई जना सरोज र कुलबहादुरलाई नेपालगञ्ज लगिएको छ भने दुई जनाको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

तुलसीपुरबाट हापुरेतर्फ जाँदै गरेको रा ८ प ३२८७ नम्बरको मोटरसाइकललाई सोहि दिशातर्फ जाँदै गरेको रा ५ प ९६७५ नम्बरको स्कुटीले ओभरटेक गर्दा दुर्घटनामा भएको प्रहरीले जनाएको छ ।

यस्तै तुलसीपुरमा अटो पल्टीदा तीन जना घाईते भएका छन् ।

दुर्घटनामा परी तुलसीपुर-४ घोरनेटीका माया वली, सोहि ठाउँका ४५ वर्षिय दिल कुमारी वली र सोहि ठाउँका १९ वर्षिय सरिता वली घाईते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता तथा प्रहरी निरिक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो ।

घाईते तीन जनामध्ये मायालाई बढी चोट लागेको छ । उहाँलाई ढाड, हात र छात्तिमा चोट लागेकोले अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

चखौराबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ह ५१७७ नम्बरको अटो शनिबार बेलुकातिर तुलसीपुर-८ भंकेस्थित आफै अनियन्त्रित हुँदा दुर्घटना भएको प्रवक्ता मल्लले बताउनुभयो ।

प्रकाशित मिति : २०८१ बैशाख १ गते शनिवार