२०८१ मङ्सिर २४ गते सोमवार

दाङमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु



दाङ, २७ कात्तिक ।
दाङमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ गैरापातु स्थित भजना खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा सोही ठाउँका ४० बर्षीय सम्शेर चलाउनेको मृत्यु भएको हो ।

चलाउने मंगलबार (आज) साँझ पौने ७ बजेतिर खोला किनारमा मृत भेटिएपछि अनुसन्धान गर्दा माछा मार्ने क्रममा मृत्यु भएको खुलेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

स्थानीय कमला विकको घरबाट विद्युत जडान गरि माछा मार्ने क्रममा करेन्ट लागेको प्रहरीले जनाएको छ । घटनास्थलबाट करेन्ट लगाउन प्रयोग गरिएको तार समेत बरामद गरिएको छ । घटनामा संलग्न रहेको आरोपमा तीन जना पक्राउ परेका छन् । प्रहरीले तुलसीपुर-७ कै ४५ वर्षिय बल बहादुर बोहरा, ६२ वर्षका गोरे वली र १२ वर्षका बालक सन्तोष विकलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक २७ गते मङ्गलवार