दाङ, १८ मंसिर ।
घोराही-तुलसीपुर सडक खण्ड आज बिहानै दृखि अवरुद्ध भएको छ । हिजो सोमबार बेलुका टिप्परले मोटरसाईकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएपछि मृतकका आफन्तहरुले सडक अवरुद्ध गरेका हुन् ।
मृतकका आफन्तहरुले क्षतिपूतीको मागसहित आज मंगलबार बिहान ८ बजेदेखि सडक अवरुद्ध गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख डिएसपी ईश्वर थापाले जानकारी दिनुभयो । मृतकका परिवारसंग सडक खुलाउने विषयमा छलफल भइरहेको डिएसपी थापाले बताउनुभयो ।
आफन्तहरुले सडक अवरुद्ध गरेपछि बैकल्पिक बाटो प्रयोग गरेर सवारी साधनहरुलाई गन्तव्यमा पठाईएको प्रहरीले जनाएको छ ।
हिजो घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ख १२९१ नम्बरको टिप्परले सोही दिशाबाट आउँदै गरेको रा ७ प ७४६ नम्बरको मोटरसाइकललाई झारबैरामा ठक्कर दिँदा तुलसीपुर-१९ कुटीचौरका १९ वर्षका सुदिप बुढाथोकीको मृत्यु भएको हो ।
मोटरसाइकलमा सवार तुलसीपुर- १७ का २२ वर्षका दिपक बस्नेत गम्भिर घाइते भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न टिप्पर चालक घोराही उपमहानगरपालिका-११, डोक्रेना बस्ने ४० वर्षीय जितबहादुर चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान जारी राखेको छ ।