दाङ, २६ मंसिर ।
दाङको तुलसीपुरमा मोटरसाइकल दुर्घटनामा घाइते भएका अर्का एक जनाको पनि मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ घोरनेटीका १८ वर्षीय सन्दीप वलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो।
गम्भीर घाइते भएका वलीलाई थप उपचारका लागि नर्सिङ होम नेपालगञ्ज लगिएको थियो। उपचारका क्रममा वलीको आज बिहान मृत्यु भएको प्रहरी निरीक्षक थापाले बताउनुभयो ।
गत आइतबार तुलसीपुर-४ ठुला खालीमा मोटरसाइकल अनियन्त्रित भएर रुखमा ठोक्किँदा तीन जना घाइते भएका थिए। सोही वडाको बनहरीबाट तुलसीपुरतर्फ आउँदै गरेको लु।प्र।०२-००१ प १७१७ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको हो।
दुर्घटनामा घाइते भएका मध्य तुलसीपुर-३ खमारीका १६ वर्षीय दिपेन्द्र वलीको सोही दिन राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको थियो।
मोटरसाइकल चालक तुलसीपुर-४ कल्लेखोलाका १७ वर्षीय गणेश खड्काको भने अवस्था मध्यम रहेको प्रहरी निरीक्षक थापाले बताउनुभयो। खड्काको हात भाँचिएको छ र अहिले उनको तुलसीपुर सिटी हस्पिटलमा उपचार भइरहेको जनाइएको छ।

