फाइल तस्बिर
तुलसीपुर,२८ पुस।
तुलसीपुरमा मोटरसाइकल र साइकल ठोक्किँदा दुई जना गम्भीर घाइते भएका छन्।
आज (आइतबार) राति पौने आठ बजेतिर तुलसीपुर उपमहानगरपालिका-६ एयरपोर्ट नजिकै मोटरसाइकल र साइकल आपसमा ठोक्किँदा दुई जना गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक विनोदराज खत्रीले जानकारी दिनुभयो।
उहाँका अनुसार, पुकार पसलदेखि तुलसीपुर बजारतर्फ जाँदै गरेको रा २ प ५१५२ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आइरहेको साइकललाई ठक्कर दिएको थियो।
माेटरसाइकलकाे ठक्करबाट साइकल यात्री तुलसीपुर-१६ ललहाैरा निवासी अन्दाजी ४६ वर्षीय श्याम चौधरी गम्भीर घाइते हुनुभएको छ। उहाँको बायाँ हात, बायाँ खुट्टा, छाती, मुख र टाउकोमा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक खत्रीले बताउनुभयो।
यस्तै, मोटरसाइकल चालक तुलसीपुर-१२ टरिगाउँकम ३० वर्षीय दिनेश चौधरी पनि घाइते हुनुभएको छ। उहाँको टाउकोमा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक खत्रीले जानकारी दिनुभयो।
दुबै घाइतेलाई तत्काल राप्ति प्रादेशिक अस्पताल, तुलसीपुरमा सामान्य उपचारपश्चात काेहाेलपुर मेडिकल कलेजमा थप उपचारका लागि रिफर गरिएको प्रहरीले जनाएको छ।

