
दाङ, २२ फागुन ।दाङमा बुधबारराति मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार लमही नगरपालिका -८ सतबरियाका ३३ वर्षीय गणेश चौधरीको बाँकेको नेपालगन्जस्थित नर्सिङहोममा उपचार क्रममा मृत्यु भएको हो ।
गणेश बुधबार उहाँकै गाउँका ४२ वर्षीय एक व्यक्तिले चलाएको मोटरसाइकलमा बसेर आफ्नो घर ठाउँतिरै जाँदैगर्दा राति करिब सवा १० बजेतिर लमही- ७ नयाँबस्तीमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
घाइते गणेशलाई उपचारका लागि सुरूमा लमही अस्पताल पुर्याइएको थियो । त्यहाँबाट घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि नेपालन्जस्थित नर्सिङ होम लगिएको थियो । त्यहीँ उपचार क्रममा बिहीबार दिउँसो दुई बजेतिर गणेशको मृत्यु भएको इलाका प्रहरी कार्यालय अमेलियाका प्रहरी प्रमुख प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले जानकारी दिनुभयो ।
धमलाका अनुसार मोटरसाइकल चालक भने सामान्य घाइते अवस्थामा बिहीबार बिहान मात्रै फेला परेको प्रहरीले जनाएको छ । गणेश र आफू ठाउँठाउँमा मदिरा सेवन गर्दै यात्रामा निस्किएको चालकको बयान छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।