२०८२ जेष्ठ १० गते शनिवार

रोल्पामा चट्याङ लागेर एक किशोरीको मृत्यु



रोल्पा, २८ चैत । रोल्पामा चट्ङ लागेर एक किशोरीको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् ।

सुनिल स्मृति गाउँपालिका-५ काप्जिङमा चट्याङ पर्दा १६ वर्षीया धनमाया खत्रीको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक यादवकुमार शाहले बताउनुभयो ।

रोल्पा नगरपालिका-१० कुटिवाङमा पनि घर भएका धनमाया आफन्तको साथमा गोठ गएको समयमा चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै चट्याङबाट सुनिलस्मृति -५ कै १५ वर्षीय नवीन खत्री र स्थानीय टीकाबहादुर घर्तीका १३ वर्षीया छोरी लिला घर्ती घाइते भएका छन् ।

खत्रीको अवस्था मध्यम रहेको र स्वास्थ्य चौकी कालीगाउँ रोल्पामा उपचार भइरहेको प्रहरी निरीक्षक शाहले जानकारी दिनुभयो । घाइते घर्तिको स्वास्थ्य सुधार हुँदै गएको प्रहरीले जनाएकोे छ । चट्याङबाट घर्तीका घरका दुई वटा बाख्रा पनि मरेका छन् । जिल्लाको सुनछहरी गाउँपालिका-३ कुलबहादुर बुढाको घरमा चट्याङबाट क्षति पुगेको छ । ढुँगामाटो र जस्ता पाताको छानो भएको घरमा चट्याङ पर्दा गाह्रो चर्किएको छ । सोलार प्यानल, ब्याट्री तथा साउन्ड बक्समा क्षति पुगेको प्रहरीले जनाएको छ ।

त्यो क्षेत्रमा गएराति ठूलो हावाहुरीसहित पानी परेको थियो । हावाहुरीले रुन्टीगढी गाउँपालिका वडा नंम्बर ५ हापखोलाको बालकल्याण प्राबिको जस्ता पाताको छाना उडाइदिएको छ । छानो उडाएर पाँच मिटर टाढा पुर्‍याएको प्रहरीले जानकारी दिएको छ । छानो उडाएपछि विद्यालयका सबै कागजजात पानीले भिजेर काम नलाग्ने भएका छन् ।

प्रकाशित मिति : २०८१ चैत्र २८ गते बिहिवार