
तुलसीपुर, २९ चैत । दाङको तुलसीपुरमा धान काट्ने थ्रेसर पल्टिदा एक जना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका–११ उरहरीमा रोकिराखिएको थ्रेसर मेसिन एक्कासी पल्टिँदा ६२ वर्षीय बमबहादुर थारु घाइते भएको प्रहरीले जनाएको छ ।
आज शुक्रबार दिउँसो साढे १ बजेतिर शसिराम खत्री (थ्रेसर साहु) बारीमा रोकिराखिएको धान काट्ने थ्रेसर अचानक पल्टिँदा नजिकै उभिएका थारु घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक विनोदराज खत्रीले जानकारी दिनुभयो ।
घाइते थारुको दुबै खुट्टा र मुखमा चोट लागेको छ । घाइते थारुलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज नर्सिङ होममा रिफर गरिएको प्रहरी निरीक्षक खत्रीले बताउनुभयो । उहाँको अवस्था मध्यम रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८१ चैत्र २९ गते शुक्रवार