
दाङ, ७ बैशाख । दाङमा अटो दुर्घटना हुँदा चार जना घाइते भएका छन् । रगैचाबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ह ५७५३ नम्बरको अटो आइतबार दिउँसो १ बजेतिर दंगिशरण गाउँपालिका–५ लौवस्तामा अनियन्त्रित भई सडकछेउको प्रतिक्षालयमा ठोकिएर पल्टिएको हो ।
दुर्घटनामा दंगिशरण–७ की ४९ वर्षीया राधिका बुढाथोकी, उहाँकी ६ वर्षीया नातिनी आयुषा बुढाथोकी, १० वर्षीया नातिनी कुशुम बुढाथोकी र शान्तिनगर–६ का ४२ वर्षीय बिरेन्द्र न्यौपाने घाइते हुनुभएको छ ।
राधिकाको पेट, कम्मर र दुबै हातमा चोट लागेको छ भने आयुषा बुढाथोकीको टाउको, पेट र दुबै हातमा चोट लागेको छ । दुवैको अवस्था मध्यम रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बिनोदराज खत्रीले जानकारी दिनुभयो ।
उहाँका अनुसार कुशुम बुढाथोकीको दुबै हातमा सामान्य चोट लागेको छ भने बिरेन्द्र न्यौपानेको दायाँ कानमा सामान्य चोट लागेको छ ।
घाइतेहरूलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भर्ना गरिएको छ । अटो चालक दंगिशरण–६ बागरका ३८ वर्षीय सिताराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।