
दाङ,१८ वैशाख । दाङको तुलसीपुर उपमहानगरपालिका-७, ग्वारखोलामा आज बिहान सवारी दुर्घटना हुँदा एक महिला घाइते भएकी छन्। तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको लु.प्र. ०१-००१ ख ००१ नम्बरको बस र सोही दिशातर्फ गइरहेको रा. १ ख ३६१८ नम्बरको खाली टिप्पर आपसमा ठोक्किँदा बसमा सवार सल्यान छत्रेश्वरी गाउँपालिका-२ की ४१ वर्षीया दिला नेपाली घाइते भएकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो।
टिप्परको पछाडिको भागले बसको अगाडिको भाग छोएपछि दुर्घटना भएको बताइएको छ। घाइते नेपालीको ढाड र छातीमा चोट लागेपछि तत्काल राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा उपचारका लागि लगिएको थियो। हाल उहाँको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि बस चालक घोराही-११ का ३४ वर्षीय टोपबहादुर वली र टिप्पर चालक हापुर निवासी अन्दाजी ३० वर्षका मिलन विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बसमा सामान्य क्षति पुगेको जनाइएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।