दाङ,१८ बैशाख ।दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित सात तले नजिकै आज साँझ भएको अटो दुर्घटनामा तीनजना घाइते भएका छन्।बिहिवार साँझ करिब साढे पाँच बजेतिर राप्ती लाेकमार्ग अन्तरगत तुलसीपुर-३ साततलेबाट तुलसीपुरतर्फ आउँदै गरेकाे लु.प्र.०२–००१ ह ८८८ नम्बरको अटो अनियन्त्रित भई पल्टिँदा तीनजना यात्रु घाइते भएकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिनुभयो।
घाइतेमध्ये तुलसीपुर उपमहानगरपालिका-५ का १९ वर्षीय सुवास परियारको मुख, टाउको र छातीमा चोट लागेको छ भने उहाँकाृ अवस्था मध्यम रहेको बताइएको छ। त्यस्तै २५ वर्षीय डिल्ली बिष्टको बाँया हातमा सामान्य चोट लागेको छ। अर्का घाइते बबई गाउँपालिका-२ का १९ वर्षीय भिमसेन परियारको टाउको र छातीमा चोट लागेको छ र उनको अवस्था पनि मध्यम छ।
घाइते सबैलाई राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा भर्ना गरि उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनाग्रस्त अटोको चालक दंगिशरण गाउँपालिका-२ का २३ वर्षीय पुर्ण के.सी. इलाका प्रहरी कार्यालय तुलसीपुरको नियन्त्रणमा रहेका छन्। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

