२०८२ असार ३ गते बुधवार

रोल्पाकाे सबैभन्दा लामाे झुलङ्गे पुलको निर्माण कार्य अन्तिम चरणमा



रोल्पा,६ जेठ । रोल्पा जिल्लाको अहिलेसम्मको सबैभन्दा लामो झुलङ्गे पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। माडी गाउँपालिका-२ घर्तीगाउँ र माडी गाउँपालिका-५ भाबाङ दुई वडालाई जोड्ने माडी खोला झुलङ्गे पुलको निर्माणको काम अन्तिम चरणमा पुगेको हो ।

रोल्पा जिल्लामा सबैभन्दा लामो झुलङ्गे पुल भन्दा अचम्म लाग्न सक्छ । जसको लम्बाई रोल्पा जिल्लामै अहिलेसम्मको लामो झुलङ्गे पुल रहेकोे दाबी गरिएको छ,उक्त झुलङ्गे पुलको लम्बाई ३ सय ४० मिटर रहेको बताइन्छ ।

माडी गाउँपालिका-२ घर्तीगाउँ र माडी गाउँपालिका-५ भाबाङ्ग वडालाई जोड्ने झुलङ्गे पुल माडी गाउँपालिका-२ को पासा र ५ को एनाबाङलाई जोड्ने गरि झुलङ्गे पुलको काम अगाडि बढाइएको माडी गाउँपालिकाले जानकारी दिएको छ ।

विकासको मोडल फेरिनु पर्छ र बाटो घाटो मात्र खन्नु भन्दा पनि पहाडमा बाटो घाटो संरक्षण गर्न कठिन हुने माडी गाउँपालिकाका अध्यक्ष अमरसिंह घर्ती मगरले बताउनुभयो। अध्यक्ष घर्ती मगरले भन्नुभयो,”माडी गाउँपालिकाले यो बर्षमात्र झुलङ्गे पुल महाशाखामा यस्ता सात वटा झुलङ्गे पुल माग गरेका छौँ,हामीले यो बर्ष पर्छ कि पर्दैन थाहा छैन”-उनले भने ।

माडी गाउँपालिका-५ भाबाङ्मा रहेको विद्यालयबाट विद्यार्थीहरुलाई आवत जावत गर्न पनि सहज हुने”हामीले लिएरको अवधारणा के छ भन्दा पहाडमा विद्यालयहरु टाढा टाढा हुने, खोलाहरु पनि हुने भएकोले बीस/तीस लाखका साना झुलङ्गे पुल पनि निर्माण गर्न सकिने र अहिले पक्की पुलहरु समेत निर्माण भइसकेकोले पनि लामो झुलङ्गे पुलको अवधारणा सुईटेबल हुने विश्वास लिइएको छ”-उनले भनेका छन् ।

रोल्पा जिल्लाको सन्दर्भमा अहिलेसम्मको लामो झुलङ्गे पुल भएको निर्माण कम्पनी अधिकारी अपर तामाकोसी जेभी प्रालिका सहायक इन्जिनियर राम खतिवडाले बताउनुभयो ।

खतिवडाले भन्नुभयो,” हुन त हामीले रोल्पामा २ सय भन्दा लामो झुलङ्गे पुल निर्माण गरेका छौँ तर अहिलेसम्म हेर्दा ३ सय माथि निर्माण भएको पुल माडी खोला झुलङ्गे पुल नै पहिलो हो भन्ने लाग्छ”- उनले भने । “पुल निर्माण कार्य २०८१ फागुन महिना देखि अगाडि बढेको र अहिले निर्माणको काम अन्तिम चरणमा पुगेकाले अबको दस/बाह्र दिनमा सम्पन्न गरि जेठ १५ गते भित्र ठेक्का सम्झौता कार्यालयलाई हस्तान्तरण गर्ने र कार्यालयले स्थानीय तहलाई बुझाउने छ”-उनले भने । “अहिले टेक्निकल र जाली फिटिङको काम भइरहेको छ र उक्त झुलङ्गे पुलमा दुई पांग्रे साधन बाइक समेत गुडाउन मिल्छ”इन्जिनियर खतिवडाले भने । माडी गाउँपालिका-५ भाबाङका नागरिकहरुलाई माडी गाउँपालिका-२ को घर्तीगाउँ आउन र माडी गाउँपालिकाको कार्यालयमा सेवा लिन आउन थप सहज हुने माडी गाउँपालिका-५ भाबाङका स्थानीय गोपाल खत्रीले बताउनुभयो। खत्रीले भन्नुभयो,”पहिले शहिद मार्गको पैदल यात्रा प्रयोग गरेर घर्तीगाउँ पुग्न ४०/५० मिनेट लाग्थ्यो तर झुलङ्गे पुलले अब उक्त समयलाई छोटो बनाएको छ”-उनले भने ।

“हामी अब सहजै झुलङ्गे पुल मार्फत छोटो समय लगाएर आवत जावत गर्न सक्छौ र सबै नागरिक गाडीमा यात्रा गर्न सहज हुन नसक्ने भएकाले पैदल यात्रा गरेर पनि भाबाङ,घर्तीगाउँ आउन सकिन्छ”-उनले भने । झुलङ्गे पुलबाट परिवर्तन गाउँपालिका-२ राङ्सी,माडी गाउँपालिका-२ घर्तीगाउँ,माडी गाउँपालिका-३ तालाबाङ, माडी गाउँपालिका-५ भाबाङ,गंगादेव गाउँपालिका-१ ओट र ५ जिनाबाङ लगायतका नागरिक करिब ५ हजार भन्दा बढी लाभान्वित हुने बताइएको छ ।

संघीय सरकारको करिब १ करोड ५२ लाख भ्याट बाहेकको रकममा निर्माण हुन लागेको हो । माडी गाउँपालिकाको पहल तथा झुलङ्गे पुल महाशाखा काठमाडौको समन्वयमा झुलङ्गे पुल निर्माण कार्य भएको र म्याद थप गर्नुभन्दा एक बर्ष अगाडि निर्माण कार्य सम्पन्न भएको अधिकारी अपर तामाकोसी जेभी प्रालिले जनाएको छ।

प्रकाशित मिति : २०८२ जेष्ठ ६ गते मङ्गलवार