२०८२ असार ३ गते बुधवार

राेल्पामा विद्यालय भवन निर्माणको क्रममा फेला परेको सकेट बम नेपाली सेनाद्वारा डिस्पोज



राेल्पा, ६ जेठ । रोल्पाको त्रिवेणी गाउँपालिका-२ दहवनस्थित भगवती माविको भवन निर्माणको लागि जग खन्ने क्रममा दुई वटा सकेट बम फेला परेको छ ।

हिजो सोमबार दिउँसो सवा १२ बजेतिर उक्त बम फेला परेको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी नुवागाउँबाट प्रहरी निरीक्षक बसन्त बहादुर डाँगीको कमाण्डमा ४ जना र इलाका प्रहरी कार्यालय होलेरीबाट प्रहरी नायब निरीक्षक तारा बहादुर छहरीको कमाण्डमा थप ४ जना प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

आज मंगलबार बिहान ९ बजे सुर्यदल गण लिवाङ ब्यारेक रोल्पाबाट सेनानी शंकर थापाको नेतृत्वमा १० जनाको नेपाली सेनाको टोली खटिइएको थियो । सेनाको टोलीले हिजो फेला परेका दुबै सकेट बमलाई सुरक्षित रूपमा डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक विजय चापागाईंले जानकारी दिनुभयो ।

स्थानीय विद्यालय नजिक बम भेटिएपछि केही समय त्रास फैलिएको भए पनि बम डिस्पोज भएपछि अवस्था सामान्य बनेको प्रहरीले जनाएको छ ॥

प्रकाशित मिति : २०८२ जेष्ठ ६ गते मङ्गलवार