तुलसीपुर, ५ भदौ ।
दाङमा कुवा सफा गर्ने क्रममा फसेर दुई जना गम्भीर घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ दमारगाउँका १६ वर्षका मुकेश बिक र ३८ वर्षका यम बाहादुर बिक गम्भिर घाइते भएको तुलसीपुर-१३ का अध्यक्ष मोहनलाल पौडेलले जानकारी दिनुभयो ।
आज विहान करिब १० बजेतिर कुवा सफा गर्ने क्रममा दुबै जना फसेका थिए । फसेका दुबैजनालाई उद्धार गरी उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइएको अध्यक्ष पौडेलले बताउनुभयो ।
कुवामा अक्सीजनको अभावले घाइते भएको हुन सक्ने अध्यक्ष पौडेलले जानकारी दिनुभएको छ ।
प्रकाशित मिति : २०८१ भाद्र ५ गते बुधवार

