तुलसीपुर,७ असार ।
तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगरले कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर आगामी वर्षका लागि नीति तथा कार्यक्रम अघि सारेको छ ।
नगर प्रमुख टिकाराम खड्काले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा किसानलाई कृषिमा आउने विभिन्न समस्या समाधानका लागि एक वडा एक कृषि प्राविधिकको अवधारणा अघि सारिएको छ । आगामी वर्षमा नगरले कृषिको उत्पादनमा वृद्धि गर्न उन्नत जातको बिउमा ५० प्रतिशत अनुदान दिने नीति ल्याएको छ ।
अधिकांश चालू वर्षमा संचालित कार्यक्रमलाई निरन्तरता दिएको नगरले कृषि उपजको न्युनतम समर्थन मूल्य निर्धारण गरि खरिद बिक्री गर्ने, कृषि उपयोगका लागि प्रयोग गरिएको विद्युत महशुलमा छुट दिने नीति लिएको नगरप्रमुख खड्काले बताउनुभयो ।
नगरले हरियो घाँसमा आधारित पशुपालनलाई प्रोत्साहनका लागि हिउँदे र वर्षे घाँसको बिउमा ५० प्रतिशत अनुदान दिने नीति अघि सारेको छ ।
नगरप्रमुख खड्काले प्रस्तुत गर्नुभएको कार्यक्रममा कृषि, पर्यटन, उद्योगमा कर्जा लगानी सहज बनाउन मेयर उद्यमी कार्यक्रम संचालन गर्ने , सहकारी संस्था मार्फत कृषिजन्य वस्तुको बिक्री वितरणमा सहजता ल्याउने उल्लेख छ।