दाङ, १५ असार ।
दाङसहित देशभर बुधबार (आज) १९ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइदै छ । कृषि ज्ञान केन्द्र दाङ र पालिकाका कृषि शाखाले विभिन्न ठाउँमा धान रोप्दै राष्ट्रिय धान दिवस तथा रोपाई महोत्स गर्न लागेका छन् । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही च्यूरा खाएर मनाउने गरिन्छ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निणर्य गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।
कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । कामको चटारोले थकित भएका किसान शक्तिप्राप्तिका लागि दही च्यूरा खान्छन् । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वका रुपमा पनि लिइन्छ ।
खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् । यसरी असार १५ गते नेपाली समाजमा राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ । दाङमा अधिकांश किसानहरुले हाइव्रिड र स्थानिय जातका धान रोप्ने गरेका छन् । तुलसीपुर उपमहानगरपालिकाले वडा नम्बर १ को देविस्थान तीनमनेमा आज राष्ट्रिय धान रोपाई दिवस मनाउन लागेको कृषि शाखा प्रमुख धनराज गौतमले जानकारी दिए । तुलसीपुरमा अहिलेसम्म करिब १५ प्रतिशत धान रोपाई सकिएको छ ।