२०८१ असोज २१ गते सोमवार

खडेरीले सुक्न थाल्यो रोपेको धान



दाङ, २ साउन ।
कतै जोतेको खेत छ त कतै खेतमा भर्खर रोपिएको धान छ । नजिकै धानको ब्याड रोप्न तयारी अवस्थामा छ । रोपेको धान पानी नपाएर सुक्न थालेको छ । रोप्न बाँकी खेतमा पनि पानी अभावमा बारी झै जोतेर राखिएको छ । गणेश कुमार खड्काले साउनको पहिलो सातासम्म पनि खेतमा धान रोप्न पाउनुभएको छैन् ।

तुलसीपुर-१३ निवासी खड्काको मुख्य पेशा कृषि हो । उहाँले करिब १५ कट्ठा खेतमा धान खेती गर्नुुहुन्छ । गतवर्ष असार २२ गतेभित्र धान रोपिसकेका खड्काले अहिले आधा पनि धान रोप्नुभएको छैन् ।

असारको मध्यतिर परेको वर्षातले रोपेको धान पनि सुक्न थालेको छ । पानीको अभावमा असार सकिनै लाग्दा पनि सबै खेतमा धान रोपाई गर्न सकेका छैनन् । ‘गतवर्ष अहिलेसम्म सबै धान रोपिसकिएको थियो, यसवर्ष त आधा पनि धान रोप्न पाएको छैन् ।’ उहाँले भन्नुभयो-‘पानी आउँछ कि भनेर दिनदिनै आकाशतिर हेर्‍यो तर पानी यतातिर पर्दैन ।’

गणेश जस्तै फूलबारीका अधिकांश किसान खेत रोप्नका लागि आकाशे पानीको पर्खाइमा छन् । सिंचाईको सुविधा नपुगेका कारण आकाशे पानीबाट धान खेती गर्दै आएका किसानले यसपाली असारको अन्तिम आइपुग्दा आधा पनि धान रोप्न पाएका छैनन् ।

फूलबारीका किसानलाई एकातिर मलको अभाव छ भने अर्कोतिर पानीको अभाव छ । पानी यसपाली समयमै नपरेका कारण तुई उपत्यकाका अधिकांश किसानले धान रोप्न पाएका छैनन् । पानीको अभावमा आफुहरुले यसपाली अझैसम्म धान रोप्न नपाएको तुलसीपुर-१३ का लिला केसीले बताउनुभयो । उहाँको आफ्नै खेत छैन् । तर उहाँले अधियाँ खेत लगाउनुहुन्छ ।

गतवर्ष अधिँया धान खेतीबाट पनि राम्रै उत्पादन लिएकी उहाँले यसवर्ष समयमै धान रोप्न नपाएकोमा उत्पादन घट्ने चिन्तामा हुनुहुन्छ । ‘खेत आफ्नो छैन्, अधिँया खेत लगाउँछौँ, तर त्यै पनि अहिलेसम्म रोप्न पाएको छैन् ।’ उहाँले भन्नुभयो-‘यसवर्ष न मल पाइयो, न जल, अहिलेसम्म पनि धान रोपिएको छैन् ।’

सिंचाई सुविधान नपुगेका किसानले साउनको पहिलोसातासम्म पनि धान रोप्न पाएका छैनन् । कृषि ज्ञान केन्द्र दाङका अनुसार गतवर्ष यो समयमा करिब ८० प्रतिशत धान रोपाई भएपनि यसवर्ष ५० प्रतिशतमात्रै धान रोपाई भएको छ ।

प्रकाशित मिति : २०७९ साउन २ गते सोमवार