२०८१ असोज १९ गते शनिवार

साउन सकिदा पनि दाङमा ६ हजार बढी हेक्टर खेत बाँझै



दाङ, ३१ साउन ।
साउन सकिदा पनि दाङमा यसवर्ष करिब ६ हजार हेक्टर खेत बाँझै भएको छ । कृषि ज्ञान केन्द्र दाङका अनुसार साउनको अन्तिमसम्म जिल्लामा ३३ हजार ४९० हेक्टर अर्थात करिब ८५ प्रतिशत खेतमा धान रोपाई सकिएको छ । जिल्लामा धान खेती हुने खेत कुल ३९ हजार ४ सय हेक्टर रहेको छ ।

साउनको अन्तिमसम्म दाङमा गत वर्ष शतप्रतिशत धान रोपाई सम्पन्न भएकोमा यो वर्ष अझै १५ प्रतिशत जमिनमा रोपाई हुन बाँकी रहेको छ । समयमा वर्षा पर्याप्त नभएका कारण घोराही र तुलसीपुरमा साउनको अन्तिम सम्ममा रोपाई जारी रहेको कृषी ज्ञान केन्द्र दाङका सुचना अधिकारी मनोजकुमार सिंहले जानकारी दिनुभयो ।

उहाँका जिल्लाको देउखुरी क्षेत्रमा मात्र शतप्रतिशत धान रोपाई सम्पन्न भएको छ । अन्य पालिकाहरुमा भने रोपाई हुन बाँकी रहेको छ । त्यसैगरी तुलसीपुर उपमहानगरपालिका,दंगीशरण र बबई गाउँपालिकामा ७० प्रतिशत रोपाई सम्पन्न भएको छ भने घोराही उपमहागनरपालिकामा ७८ प्रतिशत, शान्तिनगरमा ८५ प्रतिशत,बबईमा ७० प्रतिशत र बंगलाचुलीमा ८० प्रतिशत धान रोपाई भएको सुचना अधिकारी सिंहले जानकारी दिनुभयो ।

दाङमा ६० प्रतिशत क्षेत्रफल आकाशे पानीको भरमा खेति हुने गरेको छ भने ४० प्रतिशत क्षेत्रफलमा सिंचाईको सुविधा रहेको छ ।

प्रकाशित मिति : २०७९ साउन ३१ गते मङ्गलवार