२०८१ माघ ४ गते शुक्रवार

स्थायी मुकाम भालुवाङमा पाँच दिनभित्र मन्त्रालय सार्न मुख्यमन्त्रीको निर्देशन



दाङ, १६ मंसिर ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले अस्थायी मुकाम बुटवलमा रहेका मन्त्रालयका सबै संरचना स्थायी मुकाम दाङको भालुवाङ सार्न निर्देशन दिनुभएको छ ।

उहाँले नयाँ निर्वाचित प्रदेश सभा सांसदहरुले प्रदेशको स्थायी राजधानीमै सपथ लिने बताउनुभयो । अस्थायी संरचनामा बुटवलमा रहेको प्रदेश सभालाई ‘फलामको टहरो’ को रुपमा निर्माण गरिएको प्रदेश सभा हलमा स्थानान्तरण गर्दै सोही स्थानबाट सपथग्रहणसँगै अव संसद दाङबाट चल्ने बताउनुभयो ।

स्थायी राजधानी निर्माणको कार्यलाई प्रदेश पूर्वाधार प्राधिकरणले युद्धस्तरमा काम बढाउनको लागि समेत मुख्यमन्त्री केसीले निर्देशन दिनुभएको छ । २०७७ साल असोज २० गते प्रदेशसभाबाट दाङ राजधानी तोकिएको थियो । राजधानीको संरचना निर्माणको काम तीब्र गतिमा अगाडि बढेको प्रदेश पूर्वाधार प्राधिकरणका कार्यकारी निर्देशक छाविराज पोख्रेलले बताउनुभयो ।

मन्त्रालयहरुका आधारभूत काम करिव ५ दिनमा र प्रदेशसभाको भवन प्रदेश सभा सदस्यहरुले सपथ लिंदासम्म तयार हुने उहाँको भनाई रहेको छ । राजधानी निर्माणको काम चलिरहे पनि त्यसको व्यवस्थापन गर्दै जाने योजनामा प्रदेश सरकार पुगेको छ ।

प्रदेश सरकारले आफ्नो सम्पूणर् कार्य जिम्मेवारी भएकोले स्थापित गरी सञ्चालन गर्ने योजना अनुसार अगाडि बढेको मुख्यमन्त्रीका प्रेस संयोजक मान बहादुर विश्वकर्माद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर १६ गते शुक्रवार