२०८१ चैत्र ४ गते सोमवार

समयमा पानी नपर्दा सल्यानमा टिमुर उत्पादनमा ह्रास



दाङ, २२ मंसिर ।
सल्यानमा यो वर्ष टिमुर उत्पादन घटेको छ । टिमुरको बोटमा फुल फुल्ने र दाना लाग्ने समयम पानी नपर्दा उत्पादनमा कमी आएको हो ।

बनगाड कुपिण्डे नगरपलिका ९ सेरागाउँबाट मात्र गर्त वर्ष ५० लाख बराबरको टिमुर निकासी भए पनि यस वर्ष १० लाख पुग्न गाह्रो हुने स्थानीय सेतु बुढाले बताउनुभयो । गत वर्ष २० क्विन्टल टिमुर बिक्री गरेका उहाँले यो वर्ष २० किलो पनि पुग्न पनि गाह्रो भएको बताउनुभयो । नगदे आम्दानीको मुख्य स्रोत नै बन्द भएपछि दैनिक गुजारा चलाउन समस्या हुने उहाँको भनाइ छ ।

अर्का किसान पूणर्बहादुर बुढाले यो वर्ष आफ्नोमा टिमुर नफलेको बताउनुभयो । गत वर्ष १० क्विन्टल बिक्री गरेका बुढाले यो वर्ष निकै कम टिमुर फलेकाले बारीमै नगएको गुनासो गर्नुभयो । टिमुरबाट वार्षिक ५ देखि ६ लाखसम्म आम्दानी हुँदै आएकोमा यसपटक एक हजार जुटाउन पनि धौधौ भएको बताउनुभयो ।

मसला र औषधीको रूपमा प्रयोग हुने टिमुर सल्यानको महत्त्वपूणर् नगदेबालीको रूपमा छ । जिल्लाका सबै स्थानीय तहमा टिमुर उत्पादन हुन्छ । सल्यानका किसानले टिमुर खेतीबाट मात्र वार्षिक १५ देखि १६ करोड रुपैयाँसम्म आम्दानी गर्दै आएका छन ्।

डिभिजन वन कार्यालय सल्यानका अनुसार गत आर्थिक वर्षमा मात्र १७ करोड रुपैयाँभन्दा बढीको टिमुर जिल्लाबाट निकासी भएको थियो। यो वर्ष उत्पादन घटेपछि किसान चिन्तित छन् ।

प्रकाशित मिति : २०७९ मङ्सिर २२ गते बिहिवार