दाङ, २५ मंसिर ।
लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकामा प्रदेशसभा भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । राप्ती गाउँपालिका-३ लालमटियामा प्रदेशसभा भवन निर्माण कार्य भइरहेको प्रदेश पूर्वाधार विकास प्राधिकरणका इञ्जिनियर विष्णु केसीले बताउनुभयो ।
प्रदेशसभा भवनको भित्रको काम सबै पूरा भइसकेको छ भने बाहिर इन्टरलक लगाउने काम बाँकी रहेको छ । त्यस्तै गार्ड हाउसको ढलान भइसकेकाले त्यो पनि अन्तिम चरणमा पुगेको इन्जिनियर केसीले बताउनुभयो । त्यो काम पनि केही दिनमै सकिने उहाँको भनाइ छ ।
नवनिर्वाचित प्रदेशसभा सदस्यले भालुवाङस्थित नयाँ भवनमा शपथ खाने तयारी गरेको भन्दै त्यसका लागि अन्य तयारीका काम पनि धमाधम भइरहेका छन् । विद्युत् जोड्ने काम पनि भएको छ । रङरोगन, एसी राख्ने, टेबल, कुर्सी, कार्पेट बिछ्याउने काम पनि भइरहेको छ । त्यो सबै जिम्मा प्रदेशसभाले लिएको छ ।
प्रदेशसभा भवन एक अर्ब २० करोड लगानीको हो । उक्त भवन वाइवी स्टोन बिल्डर्स प्रालिले निर्माणको जिम्मा पाएको छ । प्रदेशसभा भवनमा सभाहलसँगै भिआइपी कोठा, भोटिङ कोठा, मर्यादा पालकका लागि गरी १४ वटा कोठा बनेका छन् ।
मुख्यमन्त्री आएपछि आवश्यक संरचना निर्माणको काम अघि बढेका छन् । मुख्यमन्त्री कार्यालय, मुख्यमन्त्री र मुख्य सचिवको निवास निर्माणको काम पनि सकिएको छ । अब अन्य मन्त्रालयकालागि संरचना तयार गर्ने काम अघि बढिरहेको छ ।
आन्तरिक, मामिला कानुन तथा सञ्चार मन्त्रालय, अर्थ तथा सहकारी मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको लागि सोही स्थानमै राख्ने गरी संरचना मर्मत गर्ने कार्य भइरहेको छ । अन्य मन्त्रालयको संरचनाका लािग भवन खोज्ने कार्य भइरहेको राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले बताउनुभयो । लुम्बिनी प्रदेशमा १३ वटा मन्त्रालय छन् ।