२०८१ फाल्गुन ६ गते मङ्गलवार

तुलसीपुरका किसान व्यावसायिक बेसार खेतिमा आकर्षित



दाङ, २६ पुस ।
तुलसीपुरका किसानले घरायसी प्रयोजनका लागि मात्रै लगाउँदै आएको बेसारले ब्यावसायिकता पाएको छ । तुलसीपुर बजारमा बेसार उद्योग सञ्चानमा आएपछि किसानले व्यावसायिक रुपमा बेसार खेति गर्न थालेका हुन् ।

अहिले तुलसीपुरका एक सय २० जना किसान व्यावसायिक रुपमा हलेतो खेति गर्छन् । उनीहरूलाई उद्योगले प्रोत्साहन स्वरुप तालिम र बीऊ उपलब्ध गराउँदै आएको छ ।

तुलसीपुरका किसान तारा बहादुर अधिकारीले उद्योगबाटै तालिम लिएर चार बिगाह जमिनबाट वार्षिक ६ मेट्रिक टन बेसार उत्पादन गरेको जानकारी दिनुभयो । किसानले काँचो बेसार प्रतिकिलो ४० रूपैयाँमा बिक्री गर्ने गरेका छन् ।

अहिले मोतीपुर, अम्बापुर, अम्वास लगायत गाउँका किसान बेसार खेतिमा लागेका छन् । उनिहरूबाट उत्पादित बेसार किनेर उद्योगले नै बजारीकरण गरिदिने भएकाले सहज भएको अर्का किसान कुमार भण्डारीले बताउनुभयो ।

२०७३ सालमा स्थापना भएको उद्योगले युवाहरूलाई पनि कृषिमा आकर्षित गरिरहेको छ । जिल्लामा बेसार खेति नहुने र बाहिरबाट आयात गर्नुपर्ने अवस्थालाई अन्त्य गर्न उद्योग सञ्चालनमा ल्याएको सञ्चालक जगदिश भण्डारीले बताउनुभयो

उद्योगले सञ्चालनमा आएपछि तुलसीपुरमा मात्रै वार्षिक ३ सय मेट्रिक टन बेसार उत्पादन हुने गरेको भण्डारीको भनाइ छ । तुलसीपुर क्षेत्रको मात्रै करिब २० बिगाह जमिनमा बेसारखेती हुने गरेको छ भने दाङभर १ सय ७२ हेक्टर क्षेत्रमा बेसार खेति हुँदै आएको छ ।

प्रकाशित मिति : २०७९ पुष २६ गते मङ्गलवार