
दाङ, २७ पुस ।
लुम्बिनी प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउने भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले अपराह्न चार बजेसम्म नेपालको संविधानको धारा १६८ को उपधारा(२) बमोजिम बहुमत सदस्यको हस्ताक्षर सहित मुख्यमन्त्रीको लागि दाबी पेश गर्न समय दिनुभएको छ ।
सो समयभित्र नेकपा माओवादी केन्द्रलगायत अन्य दलको समर्थनमा नेकपा एमाले संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्री बनाउने गरी दाबी पेश गरिने छ। त्यसपछि प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने गर्नुहुने भएको छ ।
लुम्बिनीमा कुनैपनि दलको बहुमत नपुगेकाले प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा(२) बमोजिम मुख्यमन्त्री नियुक्तीको लागि आह्वान गर्नुभएको छ । अब प्रदेश प्रमुखले दिएकै समय सिमाभित्र मुख्यमन्त्री नियुक्तीको दाबी पेश गरिने भएको छ ।
नेपालको संविधानको धारा १६८ को उपधारा(२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थमान बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रावधान छ । सोही प्राब्धान अन्तरगत प्रदेश प्रमुखले आज अपराह्न ४ बजे सम्मको समयमा दावी पेश गर्न समय दिइएको छ।
एमाले २९, माओवादी ९, राप्रपा/नागरिक उन्मुक्ती ४/४, जनमत पार्टी/जसपा ३/३ सिट छ। यहाँ नेपाली कांग्रेस २७, राष्ट्रिय जनमोर्चा/नेकपा एकीकृत समाजवादी एक/एक, लोकतान्त्रीक समाजवादी तीन, स्वतन्त्र ३ जना छन् ।
यसैबिच प्रदे सरकारको नेतृत्व नेकपा एमाले र माओवादी केन्द्रले आलोपालो गर्ने समझदारी भएको छ । नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बरालले लुम्बिनीमा आलोपालो सरकारको नेतृत्व गर्ने समझदारी भएको बताउनुभयो ।
दुबै दलका केन्द्रका शीर्ष नेताहरु बसेर आधा आधा कार्यकाल सरकारको नेतृत्व गर्ने समझदारी भएको छ । समझदारी अनुसार सुरुको साढे २ वर्ष एमालेले र त्यसपछिको साढे २ वर्ष माओवादी केन्द्रले नेतृत्व गर्ने छन् ।