दाङ, २८ पुस ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज पद तथा गोपनीयताको सपथ लिने हुनुभएको छ ।
प्रदेश प्रमुखको कार्यालयले लुम्बिनी प्रदेशसभा परिसर राप्ती उपत्यका देउखुरीमा आज दिउँसो १ बजे उहाँको पद तथा गोपनीयताको शपथ ग्रहण समारोहको आयोजना गरेको हो ।
नेपालको संविधान धारा १७२ बमोजिम मुख्यमन्त्री र मन्त्रीले प्रदेश प्रमुख समक्ष तथा राज्यमन्त्री र सहायक मन्त्रीले मुख्यमन्त्री समक्ष आफ्नो कार्यभार सम्हाल्नुअघि प्रदेश कानुन बमोजिम पद तथा गोपनीयताको शपथ लिनुपर्ने उल्लेख रहेको छ ।
हिजो प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा(२) बमोजिम एमाले संसदीय दलका नेता गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
यस्तै, आजै ३ देखि ५ सदस्यीय मन्त्रिपरिषद् गठनको तयारी छ । एमाले, माओवादी र अन्य साना दलहरूको सहभागितामा सानो आकारको मन्त्रिमण्डल गठन गर्ने नवनियुक्त मुख्यमन्त्री गिरीको तयारी छ । एमाले र माओवादीबाट एक-एक जना गरी दुई जनाले मन्त्रीको शपथ लिनेगरी छलफल अघि बढेको छ । बाँकी दलबाटसमेत मन्त्री बन्नेहरूको बारेमा सत्ता गठबन्धनभित्र छलफल चलिरहेको छ ।
एमालेबाट भूमिश्वर ढकाल र माओवादीबाट संसदीय दलका नेता जोखबहादुर महरा मन्त्री बन्ने पक्कापक्की जस्तै भएको बैठकमा सहभागी प्रदेशसभा एक सदस्यले बताएका छन् । तर, माओवादीभित्र सरकारमा सहभागी हुन सबैजसो प्रदेश सभा सदस्य आकांक्षी छन् । यसले गर्दा आन्तरिक रूपमा व्यवस्थापन गर्न जटिल बन्न थालेको छ । एमाले र अन्य दलभित्र पनि आकांक्षीको लिस्ट लामै छ ।
भूमिश्वर ढकालले भौतिक पूर्वाधार र जोखबहादुर महराले अर्थ या आन्तरिक मामिला मन्त्रालय मध्य एउटा मन्त्रालयको जिम्मेवारी पाउनु हुनेछ । महराले अर्थमन्त्रालय पाउनुपर्ने दाबी छ । माओवादीमा दोस्रो कार्यकालमा समेत निर्वाचित र मन्त्री भइसकेका इन्द्रजीत थारू, नमुना केसीसमेत मन्त्रीको आकांक्षी रहनुभएको छ ।
एमालेबाट चेतनारायण आचार्य पनि मन्त्री बन्ने लाइनमा रहनुभएको छ । अघिल्लो पटक आचार्य मन्त्री भइसकेका मध्य पर्नुहुन्छ । यस पटक उहाँलाई मन्त्री बनाउने समेत तयारी रहेको छ ।।