२०८१ असोज १८ गते शुक्रवार

लुम्बिनी प्रदेश राजधानी देउखुरीमा चहलपहल शुरु



दाङ, १ माघ ।
लुम्बिनी प्रदेशको राजधानी देउखुरीमा चहलपहल बढेको छ । प्रदेशको मन्त्रालय र विभिन्न सरकारी कार्यालय व्यवस्थापन हुन थालेपछि चहलपहल बढेको हो ।

मन्त्री, सांसद, उनीहरु निकट कार्यकर्ता तथा सरकारी कर्मचारी र विभिन्न संघसंस्थाले अस्थायी तथा स्थायी बसोबासको व्यवस्थापन गर्न खोजिरहेका छन् भने स्थानीय पालिकाले प्रदेश सरकारकै समन्यवमा बसाई व्यवस्थापनको सहजीकरण गरेको छ ।

राप्ती गाउँपालिकामा पर्ने राजधानीका मन्त्रालय क्षेत्रमा दिने घरहरुको लगत निकालेर न्युनतम भाडादर समेत तयार गरी सार्वजनिक गरेको छ । स्थायी राजधानीमा बसाई व्यवस्थापनमा असहज हुने भन्दै कर्मचारीहरूले इन्कार गरेपछि पालिकाले घरभाडा लगायतमा व्यवस्थापनको काम थालेको हो ।

कर्मचारीको विरोध मत्थर पार्न प्रदेश सरकारले हाल कर्मचारीलाई आवास सुविधासमेत दिने निणर्य गरेको छ । स्थायी राजधानी देउखुरीमा गत आइतबार शपथग्रहण गरेसँगै अब सांसद्हरूको बसाइ देउखुरीमा हुने भएको छ ।

कर्मचारी, सांसद्, सांसदका स्वकीय सबैलाई लक्षित गर्दै राप्ती गाउँपालिकाले डुकनारायण पोखरेललाई सम्पर्क व्यक्तिसमेत तोकेको छ ।

राप्ती प्राविधिक शिक्षालय रहेको परिसरमा अहिले लुम्बिनी प्रदेशको राजधानीका संरचना छन् । शिक्षालयको करिब १८ विगाह क्षेत्रफलमा रहेको परिसरमा प्रदेश राजधानी छ । तर सबै संरचना सरकारमा नाममा आइसकेको छ ।

प्रकाशित मिति : २०७९ माघ १ गते आइतवार