दाङ, २ माघ ।
लुम्बिनी प्रदेश सरकारले आयोजना गरेको माघी महोत्सव स्थगित भएको छ । आइतबार पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनापछि संघीय सरकारले सोमबार राष्ट्रिय शोक बिदा दिएपछि लुम्बिनी प्रदेश सरकारले माघी महोत्सव स्थगित गरेको हो ।
यसअघि गत शुक्रबार प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले सोमबार माघी महोत्सव मनाउने र प्रदेशभरी सार्वजनिक बिदा दिने निणर्य गरेको थियो । प्रदेशका आन्तरिक मामिला तथा संचार मन्त्रालयका सचिव कोमलप्रसाद धमलाले जहाज दुर्घटनामा परी ६९ जनाको ज्यान गएको र संघीय सरकारले शोक मनाउने निणर्य गरेसँगै उक्त कार्यक्रम स्थगित भएको जानकारी दिनुभयो ।
धमलाका अनुसार माघी महोत्सवको सम्पुणर् तयारी भइसकेपनि थारू र मगर समुदायसँग सल्लाह गरेर सरकारले उक्त निणर्य गरेको हो । तयारी गरेका समुदायले आफ्नै समुदाय बीचमा कार्यक्रम गरेर मंगलबार माघी मनाउने धमलाले बताउनुभयो ।
लुम्बिनी प्रदेशमा विशेष गरेर थारू र मगर समुदायले माघी महोत्सव विशेष उत्साहका साथ मनाउने प्रचलन छ । सोहि अनुसार प्रदेश सरकार गठनसँगै २०७५ सालबाट लुम्बिनी प्रदेश सरकारले माघी महोत्सव आयोजना गर्दै आएको थियो ।