![](https://etulsipur.com/wp-content/uploads/2023/01/Lila-giri.jpg)
दाङ,५ माघ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज विश्वासको मत लिनुहुने भएको छ । मुख्यमन्त्री गिरीले आज विश्वासको मत लिएपछि मन्त्रालयको बाँडफाँट गर्ने तयारी रहेको मन्त्री चेतनारायण आचार्यले बताउनुभयो ।
विश्वसासको मत लिएपछि अन्य विषयगत समितिको पनि टुंगो लगाउने उहाँको भनाई छ । प्रदेशसभाको पहिलो अधिवेशनको चौथो बैठक बिहिबार आज दिउसो १ बजे बस्दैछ । लुम्बिनी प्रदेशमा अहिले तीन जनाको मन्त्री मण्डल छ ।
एमालेबाट आचार्य र माओवादी केन्द्रबाट बाँकेकी कृष्णा केसी मन्त्री बनेका छन् । तर, दुबै जनाको मन्त्रालय टुंगो भने लागेको छैन् । लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीलाई एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका ४-४, जसपा,लोसपा र जनमतका ३-३ र २ स्वतन्त्र सासदहरुको सहित ५८ जनाको समर्थन रहेको छ ।
८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सीट आवश्यक पर्छ । यो अनुसार सत्तापक्षको स्पस्ट बहुमत रहेको छ । त्यस्तै प्रदेशमा कांग्रेसका २७ र एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १-१ सदस्य छन् ।
मन्त्रालय घटाएपनि आकांक्षी धैरै भएपछि मन्त्रालय भागबन्डामा समस्या हुने गरेको छ । यस अघि १३ वटा मन्त्रालय रहेपछि अब भने मुख्यमन्त्रीसहित १० वटा मात्रै मन्त्रालय रहनेगरि मन्त्रीपरिषदले निणर्य गरेको मन्त्री आचार्यले बताउनुभयो ।