दाङ ११, फागुन ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले निर्धक्कसँग हात्तीपाइले बिरुद्धकोे औषधि सेवन गर्न अनुरोध गर्नुभएको छ । हात्तीपाइले रोग बिरुद्धको आम औषधि सेवन अभियान २०७९ को शुभारम्भ गर्दै मुख्यमन्त्री गिरीले भन्नुभयो, ‘हात्तीपाइले रोग बिरुद्धको औषधिले मानव स्वास्थ्यमा असर गर्छ भन्ने भ्रमबाट मुक्त भई निर्धक्कसँग औषधि सेवन गरौं ।
यो रोगको उन्मुलनको एकमात्र उपाय औषधि सेवन नै भएकाले औषधि सेवन अभियानमा कोही छुट्नु हुँदैन ।’ प्रदेशका दाङ, बाँके र कपिलवस्तु हात्तीपाइले रोगका लागि उच्च जोखिममा रहेका जिल्ला भएको भन्दै मुख्यमन्त्री गिरीले यी जिल्लालाई हात्तीपाइले रोगमुक्त बनाउने अभियानमा जुट्न सबैलाई अनुरोध गर्नुभयो । ‘हात्तीपाइले रोगको उन्मुलनका लागि सबैको सहकार्य अनिर्वाय छ ।
प्रदेशका दाङ, बाँके र कपिलवस्तु हात्तीपाइले रोगको उच्च जोखिम भएका जिल्ला हुन्’, मुख्यमन्त्री गिरीले भन्नुभयो, ‘प्रदेशलाई हात्तीपाइले रोगमुक्त जिल्ला बनाउन सरकारले योजना बनाएको छ । सरकारको योजनालाई सफल बनाउन लाग्न सबैलाई आग्रह गर्दछु ।’ हात्तीपाइले रोगको उन्मुलन लागि औषधि सेवन अनिवार्य रहेको बताउँदै मुख्यमन्त्री गिरीले औषधि सेवन अभियानलाई घरघरसम्म पु¥याउन स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिनुभयो ।
‘हात्तीपाइले रोगको उन्मुलनका लागि सबैले औषधि सेवन गर्नैपर्दछ । यो सरुवा रोग भएकाले कुनै एकजनामा यो रोग लाग्दा अरुमा पनि सर्ने हुँदा सबै नाागरिकलाई अभियानसँग जोड्नुपर्दछ’, मुख्यमन्त्री गिरीले भन्नुभयो, ‘औषधि सेवनमा कुनै पनि नागरिक नछुट्ने गरी स्वास्थ्यकर्मीहरु लाग्नुपर्दछ । सबैलाई औषधि सेवन अभियानमा जोड्नैपर्दछ ।’ उक्त अवसरमा बोल्दै भौतिक पूर्वाधार विकास मन्त्री इन्द्रजीत चौधरीले स्वच्छ समाज निर्माण अभियानमा जुट्न प्रदेशबासीलाई आग्रह गर्नुभयो ।
रोगमुक्त नहुँदासम्म समाज स्वच्छ नहुने बताउँदै मन्त्री चौधरीले भन्नुभयो, ‘स्वच्छ समाज निर्माणका लागि नागरिक स्वच्छ हुनुपर्दछ । स्वच्छ रहने दायित्व नागरिकको हो । नागरिकले आफ्नो दायित्व पुरा गर्नुपर्दछ । राज्यले उपचारको व्यवस्था मिलाउनुपर्दछ ।’ राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा. विकाश देवकोटाले स्वागत मन्तव्य राख्नुभएको थियो । फोटो क्याप्सन १. हात्तेपाइले बिरुद्धको औषधि सेवन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी ।