सल्यान,१ चैत।
सल्यान-कालिमाटी गाउँपालिकामा पोषण स्वास्थ्य र सामाजिक सुरक्षा सम्बन्धि सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।
कालिमाटी ३ स्थित वडा कार्यालयमा सम्पन्न कार्यक्रममा सहभागिले पोषणको क्षेत्रमा गाउँपालिकाले लगानी बढाउनुपर्ने र सामाजिक सुरक्षाका कार्यक्रमहरुलाइ प्रभावकारी बनाउनुपर्ने सुझाव दिएका छन ।
गाउँवेशी सुचना केन्द्र सल्यानको सहजीकरणमा भएको कार्यक्रमका प्रमुख जवाफदेही वक्ता गाउँपालिका अध्यक्ष दान बहादुर केसीले पोषण स्वास्थ्य सुधारका लागि राज्यको सामाजिक सुरक्षा कार्यक्रम उपयोगी रहेको भन्दै यसको प्रभावकारी कार्यान्वयनका लागि पालिका सकृयताका साथ लाग्ने प्रतिबद्धता जनाए ।
राम्रो पोषण पाएमा व्यक्ती शारीरिक तथा मानसिक रुपमा सक्षम हुने र उसले समुदायमा सहभागी हुन, सकारात्मक योगदान दिन, तथा रोग, विपत्ति र अन्य विश्वव्यापी संकटहरूसंग लड्न समर्थ हुने बताए । सहभागिहरुले पोषण सुधारका लागि करेसाबारिमा तरकारी खेतिका लागि आवश्यक सहयोग हुनुपर्ने, बाल पोषणका लागि राज्यले उपलब्ध गराउने रकम कम भएकाले वृद्धिका लागि पहल गर्नुपर्ने सुझाव दिएका थिए ।
गाउँपालिकाको कृषि, पशु, स्वास्थ्य लगायतका शाखाबाट संचालन भैरहेका पोषण सम्बन्धि कार्यक्रमको बारेमा शाखा प्रमुखहरुले प्रस्तुती राखेका थिए भने सहभागिको जिज्ञासाको जवाफ पनि दिएका थिए ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद पौड्याल, वडा नम्बर २ का वडाध्यक्ष इन्द्र बहादुर वली, ३ का वडाध्यक्ष शिव बहदुर केसी, कार्यपालिका सदस्य सुमित्रा राना लगायतका जवाफदेही वक्ताहरु सहभागी थिए ।
पत्रकार महासंघ सल्यानका उपाध्यक्ष शंकर केसीले सहजीकरण गर्नुभएको कार्यक्रममा गाउँपालिकाका प्रशासन शाखा प्रमुख यज्ञ बहादुर खत्रीले गाउँपालिका मार्फत कार्यान्वयन भैरहेका सामाजिक सुरक्षाका कार्यक्रमहरु र जम्मा लाभग्राहिहरुको बारे अवगत गराएका थिए ।