दाङ, ३, चैत ।
आज उपराष्ट्रपतिको निर्वाचन भएपछि वर्तमान गठबन्धनमा आवद्ध दलहरू लुम्बिनी प्रदेशको सत्ता फेरबदलको कसरतमा लाग्ने भएका छन् । सरकारमा रहेका तथा समर्थित दलहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिने र मुख्यमन्त्रीलाई विश्वासको मत लिन बाध्य पार्ने तयारीमा सत्ता गठबन्धन छ ।
सरकारलाई समर्थन गरेका सबै दलहरूले समर्थन फिर्ता लिए मुख्यमन्त्री लीला गिरी अल्पमतमा पर्ने देखिएको छ । यो अवस्थामा मुख्यमन्त्रीले विश्वासको मत लिनु पर्ने हुन्छ ।
गठबन्धनमा रहेको ठूलो दल नेपाली कांग्रेसले सरकारमा आफ्नो नेतृत्व सहितको सत्ता समीकरण निमार्णका लागि कसरत थालेको छ । सत्ता समीकरणका लागि माओवादी केन्द्रसहित सरकार समर्थित अन्य दलसँग पनि कांग्रेसले संवाद गरिरहेको छ ।
यता वर्तमान सत्ता साझेदार दल माओवादी केन्द्रले पनि सत्ता समीरकणको प्रक्रिया प्रारम्भ हुने बताएको छ । तर सरकारलाई दिएको समर्थन फिर्ता लिने/नलिने भन्नेबारेमा अहिले माओवादीले निर्णय भने गरिसकेको छैन । केन्द्र निर्देशनअनुसार अगाडि बढ्ने निचोडमा पुगेको माओवादीले केन्द्रको निर्देशन कुरेर बसेको छ ।।