२०८१ चैत्र ५ गते मङ्गलवार

लुम्बिनी सरकारको नेतृत्व लिन कांग्रेस र माओवादीको हानथाप



दाङ,४ चैत ।
लुम्बिनी प्रदेशमा सरकारको नेतृत्व लिन कांग्रेस र माओवादीबीच ठूलो हानथाप चलिरहेको छ । एमाले नेतृत्वको सरकारमा मन्त्री रहेका माओवादी संसदीय दलका नेता जोखबहादुर महरा र कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले मुख्यमन्त्री आफ्नो भागमा पार्न तीब्र लबिइङ गरिरहनुर्भएको छ ।

नेता चौधरीले अघिल्लो कार्यकालमै कांग्रेस र माओवादीबीच सरकारको नेतृत्व आधा/आधा कार्यकाल गर्ने सहमति भए पनि कार्यान्वयन नभएकाले यसपटक सरकारको नेतृत्व कांग्रेसले पाउनुपर्ने बताएउनुभयो । २०७८ साउन २८ मा मुख्यमन्त्री नियुक्त हुनुभएका माओवादीका कुलप्रसाद केसीले ८ महिनापछि सरकारको नेतृत्व कांग्रेसलाई हस्तान्तरण गर्ने सहमति भएको थियो । तर बाँकी कार्यकाल पनि केसी नै मुख्यमन्त्री रहनुभएको थियो ।

‘लुम्बिनीमा अहिलेसम्म कांग्रेसले सरकारको नेतृत्व गर्ने अवसर पाएको छैन, अघिल्लो कार्यकाल माओवादीसँग भएको सहमति पनि कार्यान्वयन हुन सकेन,’ संसदीय दलका नेता चौधरीले भन्नुभयो, ‘हाम्रो पार्टी नेतृत्वलाई यो वास्तविकता राम्ररी थाहा छ, तैपनि यसपटक काठमाडौं आएका बेला लुम्बिनीको नेतृत्व कांग्रेसले पाउने गरी गठबन्धनमा सहमतिका लागि आग्रह गरेका छौं ।’

माओवादी संसदीय दलका नेता महराले पनि प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष दाहालमार्फत मुख्यमन्त्री बन्ने प्रयास अघि बढाएको बताउनुभयो । माओवादी लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले कांग्रेसको बलियो दाबेदारी रहेको अवस्थामा पार्टीको पक्षमा माहोल निर्माणका लागि केन्द्रीय तहमै प्रयास गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो । ‘हाम्रो पार्टीको संसदीय दलको नेता (महरा) लाई सरकारको नेतृत्व प्राप्त गर्ने गरी पहल गर्न भनेका छौं, उहाँले पार्टी नेतृत्वसहित अन्य नेताहरूसँग भेटघाट गरिरहनुभएको छ,’ उहाँले भन्नुभयो ।

कोशी, गण्डकी र लुम्बिनीमा सरकारको नेतृत्वका लागि कांग्रेस र माओवादी केन्द्रका नेताबीच प्रतिस्पर्धा भइरहेको छ भने यीबाहेक अन्य प्रदेशमा मन्त्रीका आकांक्षी सांसदले नेताहरूसँग आकांक्षा राखिरहेका छन् ।

प्रकाशित मिति : २०७९ चैत्र ४ गते शनिवार