दाङ, २१ चैत ।
लुम्बिनी प्रदेश सभाले कानुन निर्माण गर्दा धेरै जनसहभागिता जुटाउने उद्देश्यले मोबाइल एप्लिकेसनबाट प्रदेश र स्थानीय तहका जनप्रतिनिधिमार्फत मत सर्वेक्षण गर्ने कार्यको सुरुवात गरेको छ ।
सबै प्रदेशवासीको धारणाको प्रतिनिधित्व होस् भन्ने उद्देश्यले मोबाइल एप्लिकेसनको माध्यमबाट लुम्बिनी प्रदेश सभाको कानुन निर्माणका क्रममा आफ्नो मत राख्न पाउने व्यवस्था मिलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
अब प्रदेश सभामा विचाराधीन कानुनका मस्यौदामा सम्बन्धित विषयगत समितिका बाहेक अन्य प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिले अनलाइनमार्फत सहभागिता जनाउन पाउने भएका छन् ।
विषयगत समितिमा छलफलका क्रममा रहेका विधेयकहरूमाथि जनमत सर्वेक्षणका लागि सहयोग पु(याउन सो समितिमा नरहेका अन्य प्रदेश सभा सदस्यहरू र स्थानीय तहका जनप्रतिनिधिसमेतलाई कानुन निर्माणमा सहभागी गराउन लागिएको प्रदेश सभाका सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिनुभयो ।
प्रदेश सभाका सूचना तथा सञ्चार शाखाका सूचना प्राविधिक विजयकुमार केसीले जनअपेक्षाअनुरूप जनमैत्री कानुन बनाउन र निर्णय गर्न सहज हुने बताउनुभयो । हाल कानुन निर्माणमा प्रदेश सभाका सदस्य र सबै स्थानीय तहका जनप्रतिनिधिलाई मात्र सहभागी गराइने गरिएकोमा अब मोबाइल एप्लिकेसनमार्फत सर्वसाधारणले आफ्नो धारणा पठाउन पाउनेछन् ।
मोबाइल एपबाट चार प्रकारका वस्तुगत र विषयगत प्रश्नहरूको व्यवस्था गरिएको तथा प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले विधेयकबारे आफ्नो राय सुझावसमेत राख्न सक्ने व्यवस्था मिलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ ।।