२०८१ मङ्सिर २३ गते आइतवार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले पाए विश्वासको मत



दाङ, १९ बैशाख ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत प्राप्त गर्नुभएको छ । गत १४ बैशाखमा नियुक्त मूख्यमन्त्री चौधरीले मंगलबार विश्वासको मत प्राप्त गर्नुभएको हो ।

प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीमा भएको प्रदेश सभाको १० औँ बैठकमा सभामुख तुलाराम घर्तीमगरले मूख्यमन्त्री चौधरीको पक्षमा ५३ मत र विपक्षमा २९ मत परेको बताउनुभयो ।

संवैधानिक व्यवस्था अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान बमोजिम मुख्यमन्त्री चौधरीले मंगलबार विश्वासको मत लिनुभएको हो । नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम नियुक्त चौधरीलाई कांग्रेसहित माओवादी, नागरिक उन्मुक्ति, जसपा, लोसपा, जनमत, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी र एक जना स्वतन्त्र सांसदको समर्थन छ ।

चौधरीलाई कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्तिका ४, जनमत, जसपा र लोसपाका ३/३ र जनमोर्चा, नेकपा एस र स्वतन्त्रका १/१ जनासहित ५३ जना बहुमत सांसदले मतदान गरेका छन् । यसअघि बनेको एमाले नेता लिला गिरी नेतृत्वको सरकारले बैशाख ११ गते विश्वासको मत प्राप्त गर्न नसकेपछि ढलेको थियो ।

 

प्रकाशित मिति : २०८० बैशाख १९ गते मङ्गलवार