२०८१ चैत्र ३ गते आइतवार

नौ महिनामा धानको आयात बढ्यो



दाङ, २४ बैशाख ।
चालु आर्थिक वर्षको नौ महिनामा धानको आयात बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नौ महिनाको अवधिमा १ अर्बभन्दा धेरैले धान आयात बढेको हो । विभागका अनुसार गत ९ महिनामा १६ अर्ब २४ करोड १३ लाख १७ हजार रूपैयाँ बराबरको धान आयात भएको छ । गत वर्ष सो अवधिमा १५ अर्ब २२ करोड १२ लाख ९९ हजार रूपैयाँको धान आयात भएको थियो ।

धानको बीउको आयात पनि ५ करोड रूपैयाँ भन्दा बढीले बढेको छ । बीउको लागि मात्रै यो अवधिमा २९ करोड ६३ लाख ९५ हजार रूपैयाँ बाहिरिएको छ । गत वर्ष भने २४ करोड ८३ लाख ७९ हजार रूपैयाँको धानको बीउ आयात भएको थियो ।

पछिल्लो समय धान र धानको बीउ आयात बढ्नुको एकिन कारणको अध्ययन नभए पनि किसानहरूमा हाईव्रिड धानप्रतिको आकर्षण हुनसक्ने कृषि विभागका निर्देशक जानुका पण्डितले बताउनुभयो । तर चालु आर्थिक वर्षमा चामल आयात भने घटेको छ ।

यो नौ महिनामा १२ अर्ब ९५ करोड पाँच लाख ८१ हजार रूपैयाँको एक लाख ९४ हजार ६९५ मेट्रिक टन चामल आयात भएको छ । गत वर्ष सो अवधिमा २४ अर्ब ९० करोड ६९ लाख सात हजार रूपैयाँको नौ लाख ८१ हजार १३८ मेट्रिक टन चामल आयात भएको थियो ।।

 

प्रकाशित मिति : २०८० बैशाख २४ गते आइतवार