२०८१ कार्तिक १९ गते सोमवार

कपुरकोटमा १२ बुँदे प्रतिवद्धता पत्र जारी : तरकारीलाई ‘कपुरकोट ब्राण्ड’



सल्यान
बैमौसमी तरकारीमार्फत आर्थिक समृद्धि प्राप्त गर्नका लागि तरकारीलाई ‘कपुरकोट ब्राण्ड ’ को रुपमा बजारीकरण गरिने भएको छ । सल्यानका दश पालिका र रोल्पाका दुई पालिकाबाट उत्पादित तरकारीलाई ‘कपुरकोट ब्राण्ड’को रुपमा बजारीकरण गरिने १२ बुँदे प्रतिवद्धता पत्र जारी गरिएको छ ।

बुधबार कपुरकोटमा भेला भएका गाउँपालिका तथा नगरपालिकाका प्रमुख एवं प्रतिनिधि र सरोकारवालाले बेमौसमी तरकारीको उत्पादन वृद्धि र बजारीकरणमा सहजताका लागि १२ बुँदे प्रतिवद्धता पत्रमा सहमति जनाएका छन् ।

प्रतिवद्धता पत्रमा उत्पादित तरकारीलाई ‘कपुरकोटको ब्राण्ड’ रुपमा बजारीकरण गर्नेदेखि एकद्धार प्रणालीमार्फत तरकारी निर्यात गर्ने सहमति भएको छ ।

कपुरकोट गाउँपालिकासहित सल्यानका दशवटै पालिका र रोल्पाको त्रिवेणी र रुण्टी गढी गाउँपालिकाका जनप्रतिनिधिले कृषिमार्फत आर्थिक समृद्धि प्राप्त गर्न तरकारीको व्यवसायीकरणका लागि कपुरकोटको तरकारी ब्राण्डको रुपमा तरकारी निर्यात गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

१२ बुँदै प्रतिवद्धता पत्रमा ठाउँ, हावापानी र भुगोल अनुसार तरकारी, फलफूल, दुग्धजन्य पदार्थ, पशुजन्य उत्पादन र अन्नबालीको उत्पादनलाई बढाउने, विषेश उत्पादन परिणामको आधारण्मा ब्राण्डीङ गरी उत्पादन, प्रर्वद्धन र निर्यात गर्ने पालिका सहमत भएका छन् ।

यस्तै तरकारीको बजारीकरणका लागि १२ वटै स्थानीय तह स्तरिय हाटबजार समिति बनाएर संकलन केन्द्र स्थापना गर्ने र कपुरकोट हाटबजार समितिको समन्वय र सहकार्यमा कृषि उपज निर्यात गर्ने प्रतिवद्धता भएको छ ।

यस्तै देशका ठुला सहरमा कपुरकोट तरकारी स्टल स्थापना गरी कपुरकोट हाटबजार व्यवस्थापन समितिले एकद्धार प्रणालीमार्फत तरकारीको बिक्रिवितरण गर्ने, तरकारी संकलन तथा बिक्रिका लागि कृषि एम्बुलेन्स संचालन गर्ने, परम्परागत कृषि अनुदानलाई परिमार्जन गरी उत्पादनमा आधारित अनुदान प्रणाली लागु गर्ने, सबै पालिकामा तरकारीको न्युनतम समर्थन लागु गर्ने प्रतिवद्धता पत्रमा उल्लेख छ ।

कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भिमप्रकाश शर्मा, कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुन, शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारी, दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसी, कालिमाटी गाउँपालिकाका अध्यक्ष दानबहादुर केसीले संयुक्तरुपमा प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका छन् ।

यस्तै कुमाख गाउँपालिका अध्यक्ष मानबहादुर बुढाथोकी, छत्रेश्वरी गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकी, रोल्पाको रुण्टीगढी गाउँपालिका अध्यक्ष जनक पुन, त्रिवेणी गाउँपालिका रोल्पाका अध्यक्ष कर्ण बहादुर बाँठामगर, बागचौर नगरपालिका उपप्रमुख सुम्निमा डिसी, सिद्ध कुमाख गाउँपालिकाका कार्यबहाक अध्यक्ष राम बहादुर बस्नेतले प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका छन् ।

यस्तै त्रिवेणी गाउँपालिका उपाअध्यक्ष सीता खड्का पुन, कृषि विकास कार्यालय सल्यानका निमित्त प्रमुख रेशम कुमार बस्नेत, कर्णाली प्रदेशका भूमि, व्यवस्था तथा कृषि मन्त्रालयका कृषि महाशाखा प्रमुख धनबहादुर कठायत र कृषि विकास अधिकृत प्रकाश पौडेलले संयुक्तरुपमा हस्ताक्षर गरी प्रतिवद्धता गरेका छन् ।

प्रतिवद्धता पत्रमा किसानलाई कुनै पनि दायित्व नपर्नेगरी हाटबजार व्यवस्थापन, बजारीकरण र तरकारी निर्यातका लागि प्रतिकेजी २५ पैसा कर लगाउने, कपुरकोट हाटबजार समितिमा अन्य पालिकाका हाट बजार व्यवस्थापन समितिका प्रमुख स्वत स् सदस्य रहने गरी एकिकृत कृषि उपज निर्यात गर्न हाटबजार समन्वय समिति गठन गर्ने, सबै पालिकाको माटो परिक्षण गर्ने, प्रांगारिक मल उत्पादन प्रर्वद्धन गर्ने, तरकारीमा हुने विषाधि परिक्षण गर्न प्रादेशिकस्तरको विषादि प्रयोगशाल संचालन गर्ने सहमति भएको छ ।

यस्तै प्रांगारिक मलको प्रयोगलाई बढवा दिन कृषिजन्य वस्तुमा गुणस्तर चिन्ह राखेर निर्यात गर्ने, कृषिमा नविनतम प्रविधि विकास गर्ने, कृषि पूर्वाधार चिस्यान केन्द्र, टनेल निर्माण, यान्त्रिकीकरण र संकलन केन्द्र स्थापना गर्ने, मल बिउ, विषादी लगायतमा लगानी बढाउने, स्वदेशी तथा विदेशी अनुसन्धानकर्तालाई भित्राएर कृषि क्षेत्रमा खोज अनुसन्धान गर्ने वातावरण निर्माण गर्ने, कृषि क्षेत्रको आधुनिकीकरणका लागि निरन्तरत समन्वय गर्नुपर्ने सहमति भएको छ ।

यस्तै बेमौसमी तरकारी मूल्य श्रृंखला अवधारणामा काम गर्ने गरी सम्पूर्ण सरोकारवालाबिच समन्वय कार्याक्रम संचालन गरी उत्पादन, प्रशोधन र बजारीकरणमा जोड दिने, रासायनिक मलको अभाव परिपुर्तिका लागि सल्यानमा प्राप्त हुने मलको कोटालाई पर्याप्त मात्रामा वृद्धिका लागि सम्बन्धित निकायमा माग गर्ने सहमति भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भरतकुमार वलीले बताउनुभयो ।

यसैबिच कर्णाली प्रदेशका भूमि, व्यवस्था तथा कृषि सहकारी मन्त्री भिमप्रकाश शर्माले बेमौसमी तरकारीलाई बजारीकरणका लागि कपुरकोेटको ब्राण्डको रुपमा लैजानुपर्ने बताउनुभयो । बुधबार सल्यानको कपुरकोटमा भएको बृहत कृषि बहसमा मन्त्री शर्माले आर्थिक विकासको प्रमुख आधार कृषि नै भएकाले तरकारीलाई कपुरकोट ब्राण्डको रुपमा निर्यात गर्नुपर्ने बताउनुभयो ।

 

प्रकाशित मिति : २०८० बैशाख २८ गते बिहिवार