२०८० फाल्गुन १३ गते आइतवार

लुम्बिनी प्रदेशसभा :जनभावना र विचार समेट्ने गरी बजेट ल्याउन सांसदको आग्रह



दाङ, १२ जेठ ।
लुम्बिनी प्रदेश सरकारको दोस्रो अधिवेशनको पहिलो बैठक अर्थात बर्खे अधिवेशनको पहिलो बैठकमा सासंदहरुले सरकार आगामी आर्थिक वर्षको २०८०/०८१ बजेट तथा नीति कार्यक्रम निर्माणको पूर्वसध्न्यामा रहेकाले सरकारले जनभावना र विचार समेट्न गरी बजेट तथा नीति कार्यक्रम ल्याउन सासंदहरु सरकारलाई सुझाव दिएका छन् ।

बैठकमा लुम्बिनी प्रदेशसभा सदस्य जन्मजयन तिमिल्सिनाले लुम्बिनी प्रदेश सरकारले प्रदेशको विकास, समृद्धि र समताका लागि आधारभूत विकास पहुँच बाहिर रहेका विकासको अभावमा बाँचिरहेका बस्तीका लागि समानता मूलक बजेट सहित जनभावना अनुरुपको बजेट र नीति कार्यक्रम लागु गर्न अपिल गर्नुभएको छ ।

आगामी बजेट तथा नीति कार्यक्रमले प्रदेशलाई रूपान्तरण गर्ने गरी अधुरा योजनालाई पुरा गरी कृषि क्षेत्रमा आधारित योजना निर्माण प्राथमिकतामा राख्दै सरकार अघि बढ्नुपर्ने उहाँको सुझाव रहेको छ । प्रदेशसभा सदस्य चेतनारायण आचार्यले प्रदेश सरकारले बजेट कार्यकर्तामुखी नभई जनतामुखी बजेट र नीति कार्यक्रम सरकारले अघि बढाउनुपर्नेे बताउनुभयो ।

सरकारले दलगत स्वार्थभन्दा माथि उठेर प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दल र प्रदेशवासीको भावना र आवश्यकताको पहिचान गरी साझा ढङ्गले सरकारले बजेट निर्माण गर्ने सरकारलाई सुझाव दिनुभएको छ । सांसद आचार्यले प्रदेश सरकारका गौरवका आयोजनाहरू अघि बढ्न नसकेकाले प्रदेश सरकारले गौरवका आयोजना निर्माण र निरन्तरताका लागि आवश्यक कार्य सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

प्रदेश सरकारकै गौरवका आयोजनाहरू अलपत्र परेकाले सरकारले ती आयोजना निर्माणका लागि तदारुकता देखाउन उहाँले आग्रह गर्नुभयो । लुम्बिनी प्रदेशको समृद्धिको आधार पहिलो आधार कृषि क्षेत्रको रहेकाले कृषि क्षेत्रको विकास लागि बृहत् योजना र बजेट निर्धारण गर्न माग गर्नुभएको छ । त्यस्तै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार र स्वास्थ्य सेवाको स्तरोन्नतिको लागि सरकारले प्राथमिकताको योजना निर्माण गर्न सरकारलाई ध्यानाकर्षण गराउनुभएको छ ।

प्रदेशसभा सदस्य ईन्द्रजीत थारुले जनताको भावना र विचार समेट्ने गरी सरकारले आगामी बजेट निर्धारण गरिनुपर्ने बताउनुभएको छ । लुम्बिनी प्रदेश कारको दोस्रो अधिवेशनको पहिलो बैठकमा प्रदेशसभा सदस्य थारुले प्रदेशको समृद्धि र विकासका लागि जनभावना अनुरुप बजेट तथा नीति कार्यक्रम तय गर्न प्रदेश सरकारलाई सुझाव दिनुभएके छ । थारुले समृद्ध लुम्बिनी प्रदेश निर्माणका लागि जनताको प्रतिनिधिको हैसियतले सरकारलाई सदैव सकारात्मक खबरदारी गर्ने समेत बताउनुभयो । बैठकमा प्रदेशसभा सदस्य नरमाया ढकाल, अम्बिका काफ्ले, सुमन शर्मा रायमाझी र मिनाकुमार श्रेष्ठले सरकारलाई सुझाव सहितको भनाई राख्नुभएको छ ।

साथै बैठकमा मन्त्री सन्तोषकुमार पाण्डेले आन्तरिक मामिला औद्योगिक व्यवसाय सम्बन्धी प्रचलित नियमको संशोधन सम्बन्धीको विधेयक प्रदेशसभा पेस गर्नुभएको छ । लुम्बिनी प्रदेशसभाको आगामी बैठक यही जेठ १४ गते आइतबार दिउसो १ बजे बस्ने निर्णय गरेको छ ।।

प्रकाशित मिति : २०८० जेष्ठ १२ गते शुक्रवार