२०८१ जेष्ठ ९ गते बुधवार

जङ्गली पशुपन्छीलाई पानी, किसानलाई सिँचाइ



दाङ, १७ जेठ ।
जङ्गलबीचमा पोखरी बनाइएपछि जङ्गली जीव जनावरलाई पानी र किसानलाई सिँचाइको सुविधा भएको छ । डिभिजन वन कार्यालय दाङ र दाङ उपत्यका वृहत् सिँचाइ आयोजनाले उपत्यकाभित्रका चार वटा पालिकाकामा जलाशय र पोखरी बनाउँदै आएको छ । डिभिजन वन कार्यालयले वनभित्रै पोखरी बनाउँदै आएको छ ।

डिभिजन वन कार्यालयले एक पालिका एक पोखरी र कहिले एक वडा एक पोखरी अभियानअन्तर्गत तुलसीपुर उपमहानगरपालिका, बबई, शान्तिनगर र दंगीशरण गाउँपालिकामा यसै वर्ष मात्रै ६ वटा पोखरी निर्माण गरेको छ । गतवर्ष पाँच वटा पोखरी निर्माण गरिएको थियो ।

डिभिजन वन कार्यालयका सूचना अधिकारी खिमबहादुर केसीले जङ्गली पशुपन्छीलाई गर्मीयाममा पानीका लागि र तल्लो तटीय क्षेत्रमा मुहान सुरक्षाका लागि पोखरी निर्माण अभियानकै रूपमा सञ्चालन गरिएको बताउनुभयो । उहाँले पोखरी निर्माणपछि गर्मीयाममा डढेलो नियन्त्रणका लागि समेत सहज भएको बताउनुभयो ।

पर्यावरणकर्मी डिल्लीबहादुर रावतले दाङ उपत्यकाका मरुभूमीकरणको निकै जोखिमयुक्त क्षेत्र भएकाले जलाशय, पोखरी निर्माणले दीर्घकालीनरुपमा देखिने समस्या समाधान हुने बताउनुभयो । उहाँले जलाशय निर्माणका कारण भूमिगत स्रोत र जैविक विविधतामा समेत सहयोग पुग्ने बताउनुभयो ।

जलाशय निर्माणसँगै जिल्लाको तल्लो तटीय क्षेत्रका कुवा, मुहानका स्रोतहरू गर्मीयाममा सुक्ने समस्या हट्दैगएको उहाँको भनाइ छ । दाङ उपत्यका बृहत् सिँचाइ आयोजना प्रमुख विराट ज्ञवालीले यस वर्ष मात्रै ८ वटा जलाशय निर्माण गरिएको र विगतमा ३५ वटा जलाशय उपत्यकाभित्र निर्माण गरिएको बताउनुभयो ।

जलाशय निर्माण भएपछि ३५ सय हेक्टर क्षेत्रफल जग्गामा बाह्रै महिना सिँचाइ सुविधा पुगेको बताउनुभयो । आर्थिक वर्ष २०८०-८१ को बजेटमा समेत जिल्लामा थप ६ सय हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा गर्न रकम समेत व्यवस्था गरिएको छ ।

पकर्रे सामुदायिक वनका अध्यक्ष मुरलीधर केसीले यसैवर्ष जङ्गलबीचमा निर्माण गरिएको पोखरीबाट जीवजन्तुका साथै किसानलाई बाह्रै महिना सिँचाइ सुविधा पुगेको बताउनुभयो । उहाँले अघिल्ला वर्ष धानमा सिँचाइका लागि वर्षायाम कुर्नुपरे तापनि यसवर्ष पोखरीको पानीबाटै धानको ब्याड राख्न कुर्नुपर्ने समस्या हटेको बताउनुभयो ॥

प्रकाशित मिति : २०८० जेष्ठ १७ गते बुधवार