२०८१ चैत्र १२ गते मङ्गलवार

लुम्बिनीमा नवनियुक्त दुई मन्त्रीले लिए सपथ



दाङ, ८ पुस ।
लुम्बिनीमा सरकार गठन भएको ८ महिनापछि तेस्रोपटक मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज आइतबार दुई मन्त्री थपेपछि मन्त्रिपरिषद् ९ सदस्यीय भएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले आइतबार बाँकेको निर्वाचन क्षेत्र नंम्बर १(१)बाट निर्वाचित माओवादी केन्द्रका कृष्णा केसीलाई सहरी विकास र प्यूठानको निर्वाचन क्षेत्र १(२)बाट निर्वाचित सरोज थापालाई उद्योग तथा यातायात व्यवस्थामन्त्रीको रुपमा सपथग्रहण गराउनुभएको छ ।

वैशाख १४ गते ३ सदस्यीय मन्त्रीपरिषद् बनाएका मुख्यमन्त्री चौधरीले जेठमा दोस्रोपटक विस्तार गर्दै ७ सदस्यीय बनाउनुभएको थियो । १० मन्त्रालय रहेको लुम्बिनीमा आजको विस्तारसँगै मन्त्रिपरिषद् ९ सदस्यीय भएको छ । बाँकी रहेको वन वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालय मुख्यमन्त्री चौधरी आफैंले राख्नुभएको छ ।

यसअघि एमाले नेता लीला गिरी नेतृत्वको सरकारमा पनि सहरी विकास मन्त्रालय नपाएपछि उहाँ झण्डै तीन महिना विनाविभागीय मन्त्री बस्नुभएको थियो । माओवादीले केसीसँगै रोल्पाका दीपेन्द्र पुनलाई पनि मन्त्री बनाउन सिफारिस गरेको थियो । तर, कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनलाई गठबन्धनबाट विद्रोह गरी हराएका कारण पुनले दीपेन्द्रलाई मन्त्री बन्न रोक्ने अडानसहित कांग्रेसमा उभिएपछि अहिले २ सदस्यीय मन्त्री विस्तार गरिएको हो ।

तेस्रोपटकको मन्त्रिपरिषद् विस्तारमा दीपेन्द्रलाई रोक्न सफल भएपनि मन्त्रिपरिषद्मा संस्थापनइतर पक्षबाट सहभागिता गराउन भने उहाँ असफल हुनुभएको छ । आइतबारबाट कांग्रेसबाट सपथग्रहण लिएका प्यूठानका थापा पनि संस्थापन पक्षकै हुनुहुन्छ । यसअघि लुम्बिनीमा स्वास्थ्यमन्त्री बनेका दाङका राजु खनाल पनि संस्थापन पक्षबाटै मन्त्री बन्नुभएको थियो ।

लुम्बिनी प्रदेशमा यसअघि माओवादीबाट धनबहादुर राना अर्थमन्त्री, लोसपाका सन्तोषकुमार पाण्डे गृह मन्त्री, जसपाका भण्डारीलाल अहिर कृषि तथा भुमी व्यवस्था मन्त्री, जनतमका चन्द्रकेश गुप्ता सामाजिक विकासमन्त्री, नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी भौतिक पूर्वाधार विकास मन्त्री छन् ।

प्रकाशित मिति : २०८० पुष ८ गते आइतवार