दाङ, २३ पुस ।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा २ सिटका लागि सात जनाको उम्मेदवारी परेको छ ।
महिला कोटामा ३ जना र अन्य कोटामा ४ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
महिला कोटामा नेकपा एमालेबाट तुलसा केसी, गठबन्धनबाट नेपाली कांग्रेसका विष्णु कुमारी सापकोटा र राप्रपाबाट विजयलक्ष्मी सिंहको उम्मेदवारी परेको छ ।
कांग्रेसका सापकोटाको प्रस्तावकमा बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्री र समर्थकमा दंगीशरण गाउँपालिका शम्भु गिरी रहनुभएको छ, भने दाङका एमाले नेता केसीको प्रस्तावकमा घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरी र समर्थकमा लुम्बिनी प्रदेश सभा सदस्य सीता शर्मा चौधरी रहनुभएको छ ।
त्यस्तै अन्यबाट एमालेका झपिन्द्रबहादुर घर्ती क्षेत्री, गठबन्धनबाट माओवादीका झक्कु सुवेदी, राप्रपाबाट निरञ्जन कुमार थापा र जनमत पार्टीका वालगोविन्द चौधरीले उम्मेदवारी दर्ता गराएका छन ।
घर्तीको प्रस्तावकमा लुम्बिनी प्रदेश सभा सदस्य गिरिधारीलाल न्यौपाने र समर्थकमा लुम्बिनी प्रदेश सभा सदस्य तुलसीप्रसाद चौधरी रहनुभएको छ भने माओवादीका सुवेदीको प्रस्तावकमा लुम्बिनी प्रदेशसभा सदस्य मिना बुढामगर र समर्थकमा प्रदेशसभा सदस्य दिलकुमारी बुढामगर रहनुभएको छ ।
यस्तै जनमत पार्टीका बालगोबिन्द चौधरीको प्रस्तावकमा लुम्बिनी प्रदेश सभा सदस्य तथा सामाजिक बिकास मन्त्री चन्द्रकेश गुप्ता र समर्थकमा लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङ रहनुभएको छ ।
लुम्बिनीमा ८७ प्रदेशसभा सदस्य र २ सय १८ पालिकाका जनप्रतिनिधि गरी ३ सय ५ जना मतदाता रहेका छन् । राष्ट्रियसभा सदस्यमा लुम्बिनी प्रदेशबाट अनिता देवकोटा र कुमार दसौँदीकोे कार्यकाल सकिएपछि निर्वाचन हुन लागेको हो ।