२०८१ साउन ५ गते आइतवार

सल्यानमा बजेट अभावले मगर भाषाको कक्षा रोकियो



सल्यान, १८ फागुन ।
सल्यानमा बजेट अभावले मगर भाषाको कक्षा सञ्चालन रोकिएको छ । मातृभाषा संरक्षणको लागि मगर समुदायको बाहुल्यता भएको छत्रेश्वरी र कालिमाटी गाउँपालिकाका दुई विद्यालयमा सञ्चालित मगर भाषा कक्षा आठ वर्षदेखि रोकिएको छ ।

विद्यालयहरुले बजेट अभावका कारण शिक्षक राख्न सकेका छैनन् । विद्यालयहरुलाई भाषा कक्षा सञ्चालन गर्न स्थानीय तहले बजेट नदिएको र स्थानीय पाठ्यक्रममा समेत मगर भाषा नसमेटिएका कारण समस्या उत्पन्न भएको छ ।

छत्रेश्वरी गाउँपालिका-५ स्थित पृथ्वी आधारभुत विद्यालय र कालिमाटी गाउँपालिका(५ दम्दवालीको जनता माविमा आर्थिक वर्ष २०६७ देखि मगर भाषा कक्षा संचालन गरिएको थियो । जनता माविले एक देखि कक्षा(५ सम्मका बालबालिकालाई मगरधुत १२ र पृथ्वी आधाभुत विद्यालयले एक देखि तीन कक्षासम्म खाम भाषा पढाउँदै आएका थिए ।

दुई विद्यालयमा मगर भाषा कक्षा बन्द भएपछि विद्यालयमा पढ्ने बालबालिका मात्र प्रभावित भएका छैनन् । स्थानीय गाउँले समेत प्रभावित भएका छन् । कक्षा संचालन गरेपछि घरमा तथा साथीभाईसँग आफ्नो मातृभाषा बोल्न जानेका बालबालिकाले सबै बिर्सिसकेका छन् ।

तत्कालिन जिल्ला विकास समितिले आदिवासी जनजाति कार्यक्रम अन्तर्गत् वार्षिक ४० देखि ५० हजारसम्म अनुदान दिएपछि एक शिक्षक भर्ना गरेर कक्षा संचालन गरेको र स्थानीय तह पुनः संरचना लगत्तै उक्त बजेट आउन छाडेपछि कक्षा रोकिएको जनता मावि दम्दवालीका शिक्षक सुरेश कुमार गाहा मगरले बताउनुभयो ।

मगर भाषालाई पालिकाले संचालन गरेको स्थानीय पाठयक्रममा पनि नसमेटेको उहाँले बताउनुभयो । उहाँका अनुसार एक देखि ५ सम्मका सय बढी बालबालिकाले मातृभाषा अन्तर्गत मगरभाषा पढ्दै आएका थिए । दम्दवालीका मगर समुदायले पनि संरक्षणमा खासै चासो नदेखाएको उहाँको भनाई छ ।

सम्बन्धित निकायमा बारम्बार बजेट विनियोजन गर्न आग्रह गर्दै आएपनि बजेट नछुटयाएको र विद्यालयसँग आफ्नै स्रोत नभएकाले पुस्तक किन्न र शिक्षकलाई तलब खुवाउन नसक्दा बाध्य भएर कक्षा रोकिएको पृथ्वी आधारभुत विद्यालय ढोरेनीका प्रधानाध्यापक लोकबहादुर बुढाले बताउनुभयो
विप्लव महर्जनले कान्तीपुरमा समाचार लेख्नुभएको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन १८ गते शुक्रवार