२०८१ माघ ९ गते बुधवार

यातायात कार्यालय राप्तीको अब सबै काम आफ्नै भवनबाट



तुलसीपुर, १९ चैत ।
यातायात व्यवस्था कार्यालय राप्ती तुलसीपुरले आफ्नै भवनबाट पूर्णरुपमा सेवा दिन थालेको छ । कार्यालयले आफ्नै भवन तुलसीपुर–६ को गाइडहरदेखि आइतबारबाट पूर्णरुपमा सेवा दिन थालेको हो । कार्यालय स्थानान्तरण भएको करिब ४ महिनापछि पूर्णरुपमा सेवा सुचारु भएको कार्यालय प्रमुख रमेश गौतमले जानकारी दिनुभयो ।

भाडाको घरमा संचालित कार्यालयले गत मंसिर २८ गतेदेखि आफ्नै भवनबाट सेवा सुचारु गरेपनि सामाजिक विकास डिभिजन कार्यालय स्थानान्तरण हुन नसक्दा सेवाग्राहीले गाइडहरबाट पूर्णरुपमा सेवा पाउन सकेका थिएनन् ।

कतिपय काम तुलसीपुर–६ घोराहीरोडमा भाडाको भवन र कतिपय काम गाइडहरबाट हुँदा सेवाग्राहीलाई सास्ती थियो । करिब ४ महिनापछि सामाजिक विकास डिभिजनको कार्यालय सरेको र अब आफ्नै भवनबाट कार्यालयले पूर्णरुपमा सेवा दिन थालेको प्रमुख गौतमले बताउनुभयो ।

सामाजिक विकास डिभिजन कार्यालयलाई भने तुलसीपुर–१२ मा रहेको शैक्षिक तालिम केन्द्रमा सारिएको छ । गत भदौ १८ गते बसेको लुम्बिनी प्रदेशको मन्त्रीपरिषद प्रदेशको बैठकले भाडाको घरमा संचालित यातायात व्यवस्था कार्यालय राप्तीलाई सामाजिक विकास डिभिजनको भवनमा सार्ने निणर्य गरेको थियो ।

भाडाको भवनमा सेवा प्रवाह हुँदा पार्किङको समस्या थियो । अब आफ्नै भवनमा पार्किङको समस्या नरहेको प्रमुख गौतमले बताउनुभयो । कार्यालय परिसरमै ट्रायल दिने व्यवस्था मिलाउन लागेको उहाँले बताउनुभयो । कार्यालयले पटके सेवा भने यसअघि कार्यालय रहेको नजिकैबाट दिइरहेको उहाँले बताउनुभयो ।

 

प्रकाशित मिति : २०८० चैत्र १९ गते सोमवार